काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक घटना भएको टिप्पणी गरेका छन्।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उक्त आन्दोलनका क्रममा हिंसा, आगजनी र जनधनको क्षति भएको उल्लेख गर्दै तत्कालीन माओवादी द्वन्द्वभन्दा पनि बढी भय सिर्जना गरिएको दाबी गरे।
‘विभिन्न देशमा चुनाव हुन्छ, तर लोकतन्त्र हुँदैन। हाम्रो देशमा भदौ २३ र २४ गते जुन प्रकारका हिंसा, आगजनी र मार्ने–मराउने घटना भए, त्यस्ता घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने खालका थिए,’ ओलीले भने।
उनले तत्कालीन माओवादीले सत्ता कब्जाका लागि हिंसात्मक बाटो रोजेको भए पनि समाजलाई अहिलेको जस्तो भयभीत बनाउने गतिविधि नगरेको दाबी गरे।
‘माओवादीले सत्ताकब्जाका लागि हिंसात्मक बाटो रोजेको थियो, तर समाजलाई यसरी भयमा राख्ने काम गरेको थिएन,’ उनले भने, ‘त्यसभन्दा पनि बढी हिंसात्मक बाटो अपनाएर सत्ता कब्जा गर्ने प्रयास भयो।’
ओलीले जेनजी आन्दोलनपछि वैधानिक सरकारविरुद्ध अवैधानिक र असंवैधानिक गतिविधि गरिएको आरोपसमेत लगाए। पूर्वप्रधानन्यायाधीशको अगुवाइमा संविधानविपरीत काम गरिएको र जननिर्वाचित संसद् विघटन गरिएको उनको दाबी थियो।
‘वैधानिक सरकारविरुद्ध अवैध, आतंकपूर्ण र आपराधिक गतिविधि गरियो। संविधानले नदिएको काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो,’ उनले भने, ‘अवैध सिफारिसका आधारमा जननिर्वाचित संसद् असंवैधानिक रूपमा विघटन गरियो।’
उनले अहिले देशमा लोकतन्त्र नै संकटमा परेको टिप्पणी गरे।
‘अहिले लोकतन्त्र कहाँ छ? लोकतन्त्र अपहरण भएको छ। लोकतन्त्रको पुनःस्थापना आवश्यक छ,’ ओलीले भने।

