आईतवार, श्रावण १०,२०८३ 05:01:50
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:01:50
Bizshala
Global IME Bank Limited

रश्मी रिजाल मृत्यु प्रकरण : प्रहरीको प्रारम्भिक निष्कर्ष आत्मदाह, कारणबारे अनुसन्धान जारी

रश्मी रिजाल मृत्यु प्रकरण : प्रहरीको प्रारम्भिक निष्कर्ष आत्मदाह, कारणबारे अनुसन्धान जारी
New Office

 

 काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ हेड रश्मी रिजालको मृत्यु प्रकरणमा प्रहरीले प्रारम्भिक रूपमा आत्मदाह भएको निष्कर्ष निकालेको छ। यद्यपि घटनाको कारण र त्यसअघिका परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

४५ वर्षीया रिजाल शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको आफ्नै विद्युतीय कारभित्र मृत अवस्थामा भेटिएकी थिइन्।

उनी साउन ८ गते बिहान करिब ७ बजे तारकेश्वर–९ शुभकामना चोकस्थित घरबाट निस्किएकी थिइन्। लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दिएको थियो।

प्रहरीले खोजी गरिरहेका बेला स्थानीयबाट उक्त क्षेत्रमा एउटा कार शंकास्पद रूपमा रोकिएको सूचना प्राप्त भएको थियो। प्रहरी घटनास्थल पुगेर कार जाँच गर्दा पछाडिको सिटमा रिजालको शव फेला परेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनास्थल आसपासका सीसीटीभी फुटेजको विश्लेषण गर्दा घटनाको समयमा अन्य व्यक्तिको उपस्थिति देखिएको छैन। घटनास्थलबाट संकलित प्रमाण र फुटेजका आधारमा रिजालले आफैंलाई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए।

प्रहरीले घटनामा प्रयोग भएको आशंका गरिएका सामग्रीसमेत कारभित्रबाट बरामद गरेको छ। कारको भित्री भागमा आगलागीको असर देखिए पनि बाहिरी भागमा ठूलो क्षति नभएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आइतबार शव परिवारलाई हस्तान्तरण गरिएको छ। पोस्टमार्टमको विस्तृत प्रतिवेदन भने आउन बाँकी छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भएकी रिजाल परिवारसहित काठमाडौंको मनमैजु क्षेत्रमा बस्दै आएकी थिइन्। उनी सानिमा क्यापिटलमा मर्चेन्ट बैंकिङ विभागको नेतृत्वसँगै प्रवक्ताको जिम्मेवारीमा समेत कार्यरत थिइन्।

प्रहरीले घटनालाई प्रारम्भिक रूपमा आत्मदाह माने पनि त्यसको कारण, घटनाअघिको मानसिक तथा व्यावसायिक अवस्था र अन्य सम्भावित पक्षबारे अनुसन्धान जारी राखेको जनाएको छ। अन्तिम निष्कर्ष विस्तृत अनुसन्धान र पोस्टमार्टम प्रतिवेदनपछि मात्र आउने प्रहरीले स्पष्ट पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.