काठमाण्डौ । सुनसरी, सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रदर्शनकारी र प्रहरीतर्फ गरी १६ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। राति साढे १२ बजे जारी गरिएको आदेशअनुसार तोकिएको क्षेत्रभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। साथै, कानून हातमा लिने वा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद सजाय हुन सक्ने उल्लेख गरिएको छ।
प्रशासनले कर्फ्यु लागू गरिएका पाँच क्षेत्रको चारकिल्ला पनि निर्धारण गरेको छ।
कर्फ्यु लागू भएका क्षेत्रहरूः
इलाका ‘क’ (हरिनगरा बजार क्षेत्र)ः पूर्व–नुनिया टोल, पश्चिम–पश्चिम खुनिया धार, उत्तर–हरिनगर गाउँपालिका कार्यालय, दक्षिण–वसन्तपुर मोड।
इलाका ‘ख’ (भुटाहा बजार क्षेत्र)ः पूर्व–मोरीया धार खोला, पश्चिम–इदगाहा फिल्ड, उत्तर–सुनसरी खोला, दक्षिण–हरिनगर गाउँपालिका कार्यालय।
इलाका ‘ग’ (कसनागञ्ज बजार क्षेत्र)ः पूर्व–यादव टोल, पश्चिम–पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तर–कृष्ण माध्यमिक विद्यालय, दक्षिण–नेपाल–भारत सीमा क्षेत्र।
इलाका ‘घ’ (घुस्की बजार क्षेत्र)ः पूर्व–कासमिया मदरसा, पश्चिम–प्रहरी चौकी घुस्की, उत्तर–इशा हार्डवेयर, दक्षिण–हिलाल पब्लिक स्कुल।
इलाका ‘ङ’ (देवानगञ्ज बजार क्षेत्र)ः पूर्व–विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिम–मोरीया खोला, उत्तर–चिउरा मिल, दक्षिण–गाउँपालिका कार्यालय।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।

