सोमबार, श्रावण ११,२०८३ 01:45:49
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 01:45:49
Bizshala
Global IME Bank Limited

मुस्ताङको शिन्तामणिले रच्यो इतिहास, बन्यो विश्वकै नम्बर वान लक्जरी होटल

रोब रिपोर्टको सन् २०२६ सूचीमा नेपालको रिसोर्ट शीर्ष स्थानमा, लक्जरी पर्यटनमा नेपाललाई ऐतिहासिक उपलब्धि

मुस्ताङको शिन्तामणिले रच्यो इतिहास, बन्यो विश्वकै नम्बर वान लक्जरी होटल
New Office

 

 

काठमाण्डौ ।  नेपालको मुस्ताङमा रहेको शिन्तामणि मुस्ताङ विश्वकै उत्कृष्ट लक्जरी होटल घोषित भएको छ।

अन्तर्राष्ट्रिय स्तरमा चर्चित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका उत्कृष्ट लक्जरी होटलहरूको सूचीमा शिन्तामणि मुस्ताङ पहिलो स्थानमा परेको हो।

विश्वका चर्चित होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै शिन्तामणि मुस्ताङले विश्व आतिथ्य क्षेत्रमा नेपालको प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याएको छ। रोब रिपोर्टले रिसोर्टलाई विश्वकै अद्वितीय र विशिष्ट विलासी गन्तव्यको श्रेणीमा राखेको छ।

कालीगण्डकी नदी नजिकै अवस्थित यो रिसोर्ट प्रसिद्ध डिजाइनर बिल बेन्स्लीको परिकल्पनामा निर्माण गरिएको हो। परम्परागत बाग्लुङ ढुङ्गा प्रयोग गरी बनाइएको रिसोर्टमा २९ वटा कोठा छन्। प्रत्येक कोठाबाट मुस्ताङका हिमाल र आसपासका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।

रिसोर्टको वास्तुकला, स्थानीय संस्कृति, प्राकृतिक वातावरण र व्यक्तिगत आतिथ्य सेवाको संयोजनलाई यसको प्रमुख विशेषताका रूपमा उल्लेख गरिएको छ।

यात्रा विशेषज्ञ क्रिस्टोफर विल्मोट–सिटवेलले शिन्तामणि मुस्ताङलाई शरीर, मन र आत्मालाई शान्त बनाउने उत्कृष्ट विश्रामस्थलका रूपमा व्याख्या गरेका छन्।

रिसोर्टमा आउने पाहुनाका लागि कम्तीमा पाँच रात बस्नुपर्ने व्यवस्था गरिएको छ। पाँच रातको प्याकेजमा पाहुनालाई मुस्ताङको प्रकृति, संस्कृति, जीवनशैली र आध्यात्मिक अनुभवसँग जोड्ने विभिन्न गतिविधि समावेश गरिएको छ।

यहाँ पर्यटकले घोडचढी, धनुषबाण, पदयात्रा तथा स्थानीय गाउँ र गुम्बाको भ्रमण गर्न सक्छन्। करिब आठ सय वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध परम्पराको अध्ययन र स्थानीय संस्कृतिसँगको प्रत्यक्ष अनुभव रिसोर्टका प्रमुख आकर्षण हुन्।

रिसोर्टमा परम्परागत तिब्बती चिकित्सा पद्धतिसँग सम्बन्धित सेवा पनि उपलब्ध गराइन्छ। यसले पर्यटकलाई विलासी बसोबाससँगै स्वास्थ्य, आध्यात्मिकता र मानसिक शान्तिको अनुभव दिलाउने अपेक्षा गरिएको छ।

एभरेस्ट क्षेत्रको तुलनामा कम भीडभाड, शान्त वातावरण र पृथक भूगोलका कारण मुस्ताङ उच्च खर्च गर्ने पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

रोब रिपोर्टले आफ्ना यात्रा विशेषज्ञ तथा समीक्षकहरूको सिफारिस, स्थलगत अनुभव, सेवाको गुणस्तर, स्थान, व्यवस्थापन, डिजाइन र मौलिकताका आधारमा होटलहरूको मूल्यांकन गरेको जनाएको छ।

विश्वका स्थापित लक्जरी होटलहरूलाई पछि पार्दै शिन्तामणि मुस्ताङ शीर्ष स्थानमा पुग्नु नेपाली पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

यस उपलब्धिले नेपाललाई हिमाल आरोहण र साहसिक पर्यटनको गन्तव्यका रूपमा मात्र नभई विश्वस्तरीय लक्जरी तथा अनुभवमूलक पर्यटनको गन्तव्यका रूपमा समेत स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.