काठमाण्डौ । संघीय संसद्का सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने प्रक्रिया तीव्र बनाएका छन्। सांसदहरूले नियुक्त गरेका स्वकीय सचिवको विवरण संघीय संसद् सचिवालयमा बुझाउने क्रम सुरु भएको छ।
यसपटक सांसदको स्वकीय सचिव बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। संसद् सचिवालयका अनुसार नियुक्तिसम्बन्धी जानकारी र आवश्यक कागजात आउने क्रम जारी छ।
साउन ४ गते राजपत्रमा प्रकाशित सूचनामा स्वकीय सचिवको न्यूनतम योग्यता नेपाल सरकारको सम्बन्धित श्रेणी वा तहका कर्मचारीका लागि तोकिएको योग्यतासरह हुनुपर्ने उल्लेख छ।
सांसदहरूले पाउने स्वकीय सचिवको पद राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सोसरहको हुने व्यवस्था छ। लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता तोकेकाले सांसदका स्वकीय सचिवका लागि पनि स्नातक अनिवार्य भएको हो।
राजपत्रमा सूचना प्रकाशित भएसँगै सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्ने बाटो खुलेको थियो। नियुक्तिपछि सांसदले तोकिएको फारम भरी संसद् सचिवालयमा बुझाउनुपर्नेछ।
संसद् सचिवालयले ‘स्वकीय कर्मचारी र परिचारक नियुक्तिका लागि भर्नुपर्ने फारम विवरण’ आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ। सांसदहरूले सचिवालयका महासचिवलाई सम्बोधन गरी स्वकीय सचिव नियुक्त गरेको जानकारी दिनुपर्ने व्यवस्था छ।
फारममा नियुक्त व्यक्तिको नाम, जन्ममिति, फोटो, लैंगिकता, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, स्थायी तथा अस्थायी ठेगाना र शैक्षिक योग्यता उल्लेख गर्नुपर्नेछ।
त्यस्तै, नियुक्त भएको पद, नियुक्ति मिति, पारिश्रमिक प्राप्त गर्ने बैंकको नाम, बैंक खाता नम्बर, स्थायी लेखा नम्बर, मोबाइल नम्बर र वैवाहिक अवस्थासमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
सांसदले स्वकीय सचिवको परिचयपत्र बनाइदिन र पारिश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाइदिन सचिवालयसँग अनुरोध गर्नुपर्नेछ। स्वकीय सचिव परिवर्तन वा पदबाट हटाइएको अवस्थामा पनि सोसम्बन्धी विवरण सचिवालयमा बुझाउनुपर्नेछ।
संसद् सचिवालयले प्राप्त विवरण परीक्षण गरी स्वकीय सचिवको अभिलेख राख्ने तथा कानुनबमोजिम पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउनेछ।

