काठमाण्डौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख भट्टले साउन ८ गते सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको उक्त विधेयक प्रदेशसभाले शुक्रबार पुनः हुबहु पारित गरेपछि सोमबार प्रमाणीकरण गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।
यसअघि प्रदेश प्रमुख भट्टले उक्त विधेयक संघीय कानुनसँग बाझिन सक्ने भन्दै तीन वटा सन्देशसहित पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका थिए।
गण्डकी प्रदेशसभाको इतिहासमा प्रदेश प्रमुखबाट विधेयक फिर्ता गरिएको यो पहिलो पटक हो। यसअघि उक्त विधेयक २०८३ असार २५ गते प्रदेशसभाबाट पारित भएको थियो।
प्रमाणीकरणसँगै औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी कानूनी प्रक्रिया अगाडि बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।