काठमाण्डौ । वालिङ नगरपालिकाले किसानको कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै किसानको घर–आँगनबाटै तरकारी तथा अन्य कृषि उपज संकलन गरी बजारसम्म ढुवानी गर्ने व्यवस्था सुरु भएको हो।
यो सेवा वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल तथा दियालो संस्था (वालिङ कृषि विकास परियोजना) को साझेदारीमा सञ्चालनमा आएको हो। ३२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सका लागि नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ तथा परियोजनाले १४ लाख रुपैयाँ लगानी गरेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण तथा बजारीकरणलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले सेवा सञ्चालन गरिएको हो।
उनले भने, ‘कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने यो किसानमैत्री कार्यक्रम हो। अब किसानले उत्पादन बिक्रीका लागि ढुवानीको चिन्ता गर्नुपर्ने अवस्था रहने छैन।’
हाल त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै उत्पादन संकलन गरिने भएकाले ढुवानी खर्च घट्नुका साथै समय बचत हुने र ताजा तरकारी बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘ढुवानीको अभावमा धेरै तरकारी कुहिन्थ्यो र बजारसम्म पुर्याउन कठिनाइ हुन्थ्यो। अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी ढुवानी गर्न सकिने भएको छ।’
वालिङ नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो पाँच रुपैयाँ अनुदानसमेत उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षको ११ महिनामा मात्रै नगरपालिकाले किसानलाई ७ लाख ९१ हजार ३४२ रुपैयाँ नगद अनुदान वितरण गरेको जनाएको छ।
सहकारीका प्रबन्धक युवराज रेग्मीका अनुसार गत वर्ष सहकारीमार्फत १ लाख ५८ हजार २ सय ६८ केजी तरकारी संकलन गरिएको थियो।
उनका अनुसार कृषि एम्बुलेन्सले एकपटकमा करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्छ। यसले ढुवानी लागत घटाउनुका साथै किसानलाई व्यावसायिक खेतीतर्फ थप आकर्षित गर्ने विश्वास लिइएको छ।
हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेका अनुसार कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला थप सुदृढ हुने, विशेषगरी साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार भई आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।