बिहीबार, श्रावण २१,२०८३ 05:51:29
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:51:29
Bizshala
Global IME Bank Limited

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल, विभाजन वा प्रचारको नीति होइनः मन्त्री सिता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल, विभाजन वा प्रचारको नीति होइनः मन्त्री सिता बादी
New Office

काठमाण्डौ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित अघि सारिएको आवश्यक पहल भएको स्पष्ट पारेकी छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन्। उनले यस सेवाले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन नगर्ने र महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न कुनै प्रकारको प्रतिबन्ध नलगाइने स्पष्ट पारिन्।

मन्त्री बादीले समानताको अर्थ सबै नागरिकलाई एउटै व्यवहार गर्नु मात्र नभई विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि भएको उल्लेख गर्दै यही संवैधानिक तथा नीतिगत मान्यताअनुरूप ‘ब्लु बस’ सेवा अघि बढाइएको बताइन्।

उनका अनुसार सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग–अलग यात्रा गराउनु नभई सबै नागरिकले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु हो। त्यसैले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवा र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारलाई समानान्तर रूपमा अघि बढाइनेछ।

मन्त्री बादीले विशेषगरी गर्भवती महिला, साना बालबालिकासहित यात्रा गर्ने आमा, ज्येष्ठ महिला, अशक्त तथा अपाङ्गता भएका महिलाले भीडभाडयुक्त सार्वजनिक यातायातमा थप कठिनाइ भोग्ने भएकाले उनीहरूको सुरक्षित आवागमन तथा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न ‘ब्लु बस’ सेवा आवश्यक रहेको उल्लेख गरिन्।

उनले ‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूलाई अझ सुरक्षित, सम्मानजनक र आत्मविश्वासका साथ शिक्षा, तालिम, रोजगारी, स्वास्थ्य सेवा तथा आर्थिक एवं सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउन सक्षम वातावरण निर्माण गर्नु रहेको स्पष्ट पार्नुभयो। साथै, सेवाको प्रभावकारिता, आवश्यकता, सञ्चालन अवस्था तथा दिगोपनाको नियमित समीक्षा गरी प्राप्त नतिजाका आधारमा आवश्यक सुधार तथा निर्णय गरिने जानकारी दिइन्।

मन्त्री बादीले सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, मर्यादित, पहुँचयुक्त र उत्तरदायी बनाउन सरकारले कानुनको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, चालक तथा सहचालकलाई लैङ्गिक संवेदनशीलतासम्बन्धी प्रशिक्षण, जनचेतना अभिवृद्धि तथा आधुनिक प्रविधिमा आधारित सुरक्षा प्रणालीको विस्तारलाई समानान्तर रूपमा अघि बढाइरहेको बताइन् ।

यसका साथै सार्वजनिक सवारीसाधनमा सीसीटीभी तथा ड्यासक्याम जडान, राइड सेयरिङ सेवामा एसओएस बटनको व्यवस्था, प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली तथा सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयनलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको उनले जानकारी दिइन्।

मन्त्री बादीले ‘ब्लु बस’ सेवा प्रचारमुखी घोषणा नभई महिलाले वर्तमानमा भोगिरहेका जोखिमको व्यावहारिक समाधान खोज्दै सुरक्षित, लैङ्गिकमैत्री, मर्यादित, पहुँचयुक्त र समावेशी सार्वजनिक यातायात प्रणाली निर्माणतर्फ अघि बढ्ने ठोस कदम भएको बताइन्।

उनले अन्त्यमा नेपाल सरकार महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यकसहित सबै नागरिकले जुनसुकै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने समावेशी सार्वजनिक यातायात प्रणाली निर्माण गर्न पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.