काठमाण्डौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा बिहीबार बिहान सुख्खा पहिरो जाँदा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
प्राप्त जानकारीअनुसार २०८३ साउन २२ गते बिहान १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ढुंगाहरू एकआपसमा ठोक्किँदा उछिट्टिएर बीओपी परिसरमा पुगेपछि विभिन्न भवन तथा संरचनामा क्षति पुगेको हो।
घटनामा पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको र जस्ताको छानामा समेत छ स्थानमा क्षति पुगेको छ। त्यसैगरी एउटा ड्युटी पोस्ट पूर्ण रूपमा ध्वस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।
यस्तै, सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुंगाले क्षति पुर्याएको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा भत्किएको तथा जिन्सी स्टोर भवनमा तीन स्थानमा प्वाल परेको छ। बीओपीको मुख्य गेटअगाडिको सिँढीमा समेत क्षति पुगेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।