काठमाण्डौ । जर्मनीको ब्रेमेन शहरमा जुम्ल्याहा शिशु जन्मसँग सम्बन्धित दुर्लभ घटना सार्वजनिक भएको छ। दुई दिदीबहिनीबीच केवल २६ मिनेटको अन्तर भए पनि उनीहरूको जन्म फरक मिति र फरक महिनामा भएको छ।
अस्पतालका अनुसार पहिलो शिशु मिरा जुलाई ३१ को राति मध्यरातअघि जन्मिइन्। त्यसको २६ मिनेटपछि दोस्रो शिशु यारा अगस्ट १ को पहिलो मिनेटमा जन्मिइन्। यसरी एउटै प्रसूति प्रक्रियाबाट जन्मिएका जुम्ल्याहा शिशु फरक महिना र फरक मितिमा जन्मिएको घटना निकै दुर्लभ मानिएको छ।
अस्पतालकी वरिष्ठ मिडवाइफ माइकेला पुट्मान ले यो घटनालाई अत्यन्त दुर्लभ र सुन्दर संयोग भएको बताएकी छन्।
चिकित्सकहरूका अनुसार दुवै शिशु पूर्ण रूपमा स्वस्थ अवस्थामा जन्मिएका छन्। आवश्यक स्वास्थ्य परीक्षणपछि आमा र नवजात शिशुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र परिवार घर फर्किसकेको छ।
विशेषज्ञहरूका अनुसार जुम्ल्याहा शिशु जन्मिँदा केही मिनेटदेखि केही घण्टासम्मको अन्तर हुनु सामान्य हो। तर पहिलो शिशु मध्यरातअघि र दोस्रो शिशु मध्यरातपछि जन्मिँदा उनीहरूको जन्ममिति र महिना फरक हुने घटना भने निकै कम हुने गर्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।