काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट हालसम्म ४९ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाएका छन् । तर अनुमति पाउने ब्रोकरको संख्या उल्लेख्य भए पनि हालसम्म तीनवटा कम्पनीले मात्रै लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराइरहेका छन् ।
यसैबीच क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं.६२)ले पनि लगानीकर्तालाई मार्जिन ट्रेडिङको सुविधा उपलब्ध गराउने तयारी सुरु गरेको छ । कम्पनीले मार्जिन कारोबार सुरु गर्न एक अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधा लिने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले लिन लागेको उक्त बैंक सुविधाका लागि क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले 'CARE-NP A3' रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमता सन्तोषजनक रहेको र ऋण सुरक्षित रहेको संकेत गर्दछ ।
मार्जिन कारोबारमा लगानीकर्ताले आफ्नो स्वपुँजीसँगै ब्रोकर कम्पनीबाट प्राप्त ऋण अर्थात् मार्जिन रकम प्रयोग गरी सेयर खरिद गर्न सक्छन् । यसले लगानीकर्ताको खरिद क्षमता बढाउनुका साथै बजारमा तरलता र कारोबार रकम विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिन्छ ।
नेप्सेका अनुसार मार्जिन कारोबारका लागि अनुमति पाएका ४९ ब्रोकरमध्ये हाल नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले मात्रै लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराएका छन् ।
यसरी हेर्दा अनुमति पाएका ब्रोकरमध्ये करिब ६.१२ प्रतिशतले मात्रै मार्जिन कारोबार सेवा सञ्चालनमा ल्याएका छन् । ठूलो संख्यामा ब्रोकरले अनुमति लिए पनि सेवा सञ्चालन गर्नेको संख्या न्यून हुँदा लगानीकर्ताले अपेक्षित रूपमा सुविधा पाउन नसकेको अवस्था छ ।
मार्जिन कारोबारका लागि अनुमति लिएका ब्रोकरले आवश्यक प्रक्रिया पूरा गरी सेवा सुरु गर्न ढिलाइ गर्दा बजारमा अपेक्षित माग सिर्जना हुन नसकेको लगानीकर्ताहरुको गुनासो छ । साथै बजार विज्ञहरुले ब्रोकर कम्पनीहरूले छिट्टै क्रेडिट रेटिङ गराएर मार्जिन कारोबार सुविधा दिनुपर्नेमा सुझाव समेत दिएका छन् ।
करिब ५० ब्रोकरले मार्जिन कारोबारका लागि अनुमति पाए पनि लगानीकर्तालाई सेवा उपलब्ध गराउन नसक्ने हो भने लाइसेन्सको व्यावहारिक अर्थ नहुने र त्यसको प्रभाव बजारमा पनि नदेखिने लगानीकर्ताहरको भनाई छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।