काठमाण्डौ । ब्राजिलको शीर्ष डिभिजन फुटबलअन्तर्गत शनिबार भएको खेलमा गोलको खुसी मनाउने क्रममा कोरिटिबाका डिफेन्डर ज्यासी विज्ञापन बोर्ड नाघेर खुला सुरुङमा खसेका छन्।
कोरिटिबाले चापेकोएन्सेसँग घरेलु मैदानमा खेलेको खेलको पहिलो हाफमा ज्यासीले बललाई जाली चुमाएपछि आफ्नो टोली २–० ले अघि बढेको ठाने। त्यसपछि उनी खुसी मनाउँदै मैदानको छेउमा रहेको विज्ञापन बोर्ड नाघ्ने क्रममा त्यसपछाडि खोलिएको सुरुङमा सिधै खसेका थिए।
घटना देखेलगत्तै सुरक्षाकर्मी दौडिएर ज्यासीको अवस्था बुझ्न पुगेका थिए। उनका टोलीका खेलाडीहरूले पनि विज्ञापन बोर्डबाट तल हेर्दै ज्यासीको अवस्था नियालिरहेका थिए। उनलाई तत्काल सुरुङबाट निकालेर उपचार गरिएको थियो।
ज्यासी उपचारपछि मैदानमा फर्कन सफल भए पनि घटनाको प्रभावका कारण दुई मिनेटपछि नै मैदानबाट बाहिरिनुपरेको थियो। त्यसमाथि उनले खुसी मनाएको गोल पनि मान्य भएन। भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को समीक्षापछि उक्त गोललाई अफसाइड भन्दै रद्द गरिएको थियो।
यद्यपि, कोरिटिबाले खेलमा चापेकोएन्सेलाई २–१ ले पराजित गर्न सफल भयो।
कोरिटिबाको कुटो पेरेरा रंगशालामा १२ वर्षअघि पनि यस्तै घटना भएको थियो। त्यसबेला कोरिटिबाका स्ट्राइकर जोएल साओ पाउलोविरुद्ध गोल गरेपछि खुसी मनाउने क्रममा विज्ञापन बोर्ड नाघ्दा त्यही खुला सुरुङमा खसेका थिए।
संयोगवश, त्यसबेला जोएललाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले नै शनिबार ज्यासीलाई पनि उद्धार तथा सहयोग गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।