काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार नियमित रूपमा गर्दै आएको काम–कारबाहीलाई लिएर उक्त मुद्दा दायर भएको जनाएको हो।
बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको स्पष्ट पारेको छ। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको जनाउँदै सम्पूर्ण सेवा तथा गतिविधि नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन भइरहेको बैंकले जनाएको छ।
बैंकले संस्थाको सबलता, ग्राहकको हित तथा समग्र बैंकिङ प्रणालीको स्थायित्वलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई निरन्तरता दिइरहेको बताएको छ।
बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि बैंकले आग्रह गरेको छ।
साथै, बैंकका सम्बन्धमा सार्वजनिक भएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन र आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई अनुरोध गरेको छ।
बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।