काठमाण्डौ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता, कांग्रेसभित्रको एकता र युवा पुस्ताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
स्वदेश फर्किएलगत्तै जारी वक्तव्यमा देउवाले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुकको सेवामा समर्पित हुन फर्किएको बताएका छन् ।
उनले कांग्रेसको ऐतिहासिक योगदान र अग्रज नेताहरूको त्यागलाई सम्मान गर्दै पार्टीभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताए ।
युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई आत्मसात् गर्नुपर्ने धारणा राख्दै देउवाले परिवर्तनको नाममा विगतका लोकतान्त्रिक संघर्ष, त्याग र बलिदानलाई नकार्ने भाष्य स्वीकार्य नहुने स्पष्ट पारे ।
वर्तमान सरकारले जनताको परिवर्तनको आकांक्षा पूरा गर्नुपर्ने भन्दै उनले सत्ता अस्थायी र जनादेश सर्वोच्च हुने स्मरण गराए। संविधानको संरक्षण तथा आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताउँदै देउवाले कांग्रेसले अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए ।
आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विगतका विभाजन र विद्वेष अन्त्य गरी प्रतिशोध होइन, मेलमिलापको बाटो रोज्नुपर्ने बताए ।
‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु’, भन्दै देउवाले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन र जनताको सर्वोत्तम हितप्रति जीवनपर्यन्त प्रतिबद्ध रहने घोषणा गरेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।