सोमबार, भाद्र १,२०८३ 11:03:02
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 11:03:02
Bizshala
Global IME Bank Limited

प्रभू बैंक डुबाउँदै सुमन शर्मा !

रिकभरीमा ध्यानै दिएनन्: संकट झन् गहिरियो, बैंकको वित्तीय स्वास्थ्य तहसनहस !

प्रभू बैंक डुबाउँदै सुमन शर्मा !
New Office

काठमाण्डौ । प्रभू बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेपछि बैंकको बिग्रिँदो वित्तीय स्वास्थ्य सुधार्ने अपेक्षा गरिएका सुमन शर्मा प्रारम्भिक परीक्षामै असफल देखिएका छन्।

२०८२ माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। त्यतिबेलासम्म बैंकको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइसकेको थियो। त्यसपछि तेस्रो र चौथो त्रैमास गरी झन्डै आधा आर्थिक वर्ष बैंक हाँक्ने अवसर पाएका शर्माले बैंकको वित्तीय अवस्थामा सामान्य सुधारसमेत ल्याउन नसकेको तथ्य बैंककै वित्तीय विवरणले देखाएको छ।

उल्टै, उनले नेतृत्व सम्हालेपछिको अवधिमा बैंक अर्बभन्दा बढी नाफाबाट करोडौँ घाटामा धकेलिएको छ। खराब कर्जा करिब दोब्बर भएको छ, नेट खराब कर्जा तीन गुणाभन्दा बढी पुगेको छ, कर्जा प्रवाह खुम्चिएको छ, प्रतिफल ऋणात्मक बनेको छ र वितरणयोग्य घाटाको पहाड अझ अग्लिएको छ।

बैंकको आर्थिक वर्ष २०८२/८३ को दोस्रो र चौथो त्रैमासिक विवरणको तुलनात्मक विश्लेषणले सुमन शर्माको नेतृत्वमा प्रभू बैंकको वित्तीय स्वास्थ्य सुधारिनुको सट्टा थप जर्जर बनेको स्पष्ट संकेत गर्छ।

Bizshala
CG Motors

 

मुख्य सूचकमा देखिएको डरलाग्दो अवस्था

१ अर्ब नाफाबाट २४ करोड घाटामा

दोस्रो त्रैमाससम्म प्रभू बैंकले १ अर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो। तर आर्थिक वर्ष सकिँदा बैंक २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा पुगेको छ।

यसको अर्थ सुमन शर्माले नेतृत्व सम्हालेपछिको तेस्रो र चौथो त्रैमासमा बैंकको वित्तीय नतिजामा करिब १ अर्ब २५ करोड रुपैयाँको नकारात्मक उलटफेर भएको छ।

सामान्य अवस्थामा आर्थिक वर्षको उत्तरार्धमा बैंकको व्यवसाय, ब्याज आम्दानी र कर्जा असुली तीव्र भई नाफा बढ्नुपर्ने हो। प्रभू बैंकमा भने ठीक उल्टो भयो। पहिलो ६ महिनामा कमाएको पूरै नाफा पछिल्लो ६ महिनाले खाइदियो र बैंकलाई थप घाटामा धकेल्यो।

यसले बैंकको आम्दानी क्षमताभन्दा पनि कर्जा पोर्टफोलियोमा लुकेको जोखिम, कमजोर असुली तथा बढ्दो प्रोभिजनिङको दबाब सतहमा आएको देखाउँछ।

खराब कर्जा ७.९४ प्रतिशतबाट १५.५५ प्रतिशत

शर्माको नेतृत्व क्षमतामाथि सबैभन्दा गम्भीर प्रश्न बैंकको खराब कर्जाले उठाएको छ।

दोस्रो त्रैमाससम्म ७.९४ प्रतिशत रहेको खराब कर्जा चौथो त्रैमासमा बढेर १५.५५ प्रतिशत पुगेको छ। छ महिनामै खराब कर्जा ७.६१ प्रतिशत बिन्दुले अर्थात् करिब ९६ प्रतिशत बढेको हो।

बैंकले कतिपय ठूला फाइल म्यानेज गरेर घोषणा गरेको खराब कर्जाको अवस्था हो यो । सुमन शर्मा निकट स्रोतले भने बैंकको वास्तविक खराब कर्जा बढेर २५ प्रतिशत माथि पुगिसकेको भनेको छ । 

यो वृद्धि सामान्य उतारचढाव होइन। यसले बैंकको कर्जा छनोट, अनुगमन, वर्गीकरण र असुली प्रणाली गम्भीर दबाबमा रहेको संकेत गर्छ।

अझ चिन्ताजनक पक्ष, बैंकको नेट खराब कर्जा अनुपात चौथो त्रैमासमा ६.२१ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात १.७६ प्रतिशत थियो। यस आधारमा एक वर्षमै नेट खराब कर्जा करिब साढे तीन गुणा भएको देखिन्छ।

प्रकाशित वित्तीय विवरणले नै यति खराब अवस्था देखाइरहेको बेला बैंकको वास्तविक सम्पत्ति गुणस्तरबारे अझ गहिरो नियामकीय परीक्षण आवश्यक देखिएको छ।

पछिल्लो ६ महिनामै साढे ३ अर्ब हाराहारी इम्पेयरमेन्टको धक्का

दोस्रो त्रैमाससम्म बैंकले कर्जा तथा अन्य सम्भावित नोक्सानीका लागि करिब १ अर्ब ४६ करोड रुपैयाँ इम्पेयरमेन्ट खर्च देखाएको थियो। आर्थिक वर्षको अन्त्यमा यस्तो खर्च बढेर करिब ४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

अर्थात् तेस्रो र चौथो त्रैमासमा मात्रै करिब ३ अर्ब ४८ करोड रुपैयाँ थप इम्पेयरमेन्ट सिर्जना भएको देखिन्छ।

बढ्दो इम्पेयरमेन्ट कुनै सामान्य लेखा समायोजन मात्र होइन। यो बैंकले प्रवाह गरेको कर्जाको असुली कमजोर भएको तथा कर्जाबाट सम्भावित नोक्सानीको जोखिम तीव्र रूपमा बढेको प्रमुख संकेत हो।

चौथो त्रैमासिक विवरणमा बैंक आफैँले नाफा र सञ्चिति घट्नुको प्रमुख कारण उच्च कर्जा नोक्सानी व्यवस्था भएको स्वीकार गरेको छ। बैंकले आगामी रणनीतिमा समस्याग्रस्त कर्जाको असुलीलाई विशेष प्राथमिकता दिने उल्लेख गरे पनि आर्थिक वर्षको नतिजाले व्यवस्थापनले यसअघिसम्म असुलीमा प्रभावकारी काम गर्न नसकेको देखाउँछ।

निक्षेप स्थिर, कर्जा झन्डै १३ अर्बले खुम्चियो

दोस्रो त्रैमासमा बैंकको ग्राहक कर्जा तथा सापटी करिब २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ थियो। चौथो त्रैमाससम्म आइपुग्दा त्यो घटेर २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ।

छ महिनामा ग्राहक कर्जा करिब १२ अर्ब ७७ करोड रुपैयाँले घटेको छ। यो करिब ५.६ प्रतिशतको संकुचन हो।

यही अवधिमा निक्षेप भने ३ खर्ब ४७ अर्ब ३७ करोडबाट सामान्य बढेर ३ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। निक्षेप लगभग स्थिर रहँदा कर्जा उल्लेख्य रूपमा घट्नुले बैंक नयाँ व्यवसाय विस्तारभन्दा पुरानो कर्जा व्यवस्थापनकै दबाबमा फसेको संकेत गर्छ।

चौथो त्रैमाससम्म बैंकको कर्जा–निक्षेप अनुपात ६७.८६ प्रतिशतमा झरेको छ। यसको अर्थ बैंकसँग निक्षेप भए पनि त्यसलाई स्वस्थ र आयमूलक कर्जामा परिचालन गर्ने क्षमता कमजोर भएको छ।

वितरणयोग्य घाटा ६ अर्ब ३१ करोड

दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य घाटा करिब ३ अर्ब ३६ करोड रुपैयाँ थियो। चौथो त्रैमासमा त्यो बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

छ महिनामै वितरणयोग्य घाटा करिब २ अर्ब ९५ करोड रुपैयाँले थपिएको हो। यसले बैंकका सेयरधनीले तत्काल लाभांशको अपेक्षा गर्ने अवस्था नरहेको मात्र होइन, विगतका सञ्चित घाटा पूर्ति गर्नसमेत बैंकलाई लामो समय लाग्न सक्ने देखाउँछ।

बैंकको रिटेन्ड अर्निङसमेत ६ अर्ब ३१ करोड रुपैयाँ ऋणात्मक छ। यसले प्रभू बैंकको नाफा कमाउने र सञ्चित घाटा घटाउने क्षमता दुवैमा गम्भीर कमजोरी देखिएको छ।

प्रतिशेयर आम्दानी ऋणात्मक, नेटवर्थ पनि घट्यो

दोस्रो त्रैमासमा प्रभू बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ८.६२ रुपैयाँ थियो। चौथो त्रैमासमा आइपुग्दा यो ऋणात्मक १.०२ रुपैयाँ बनेको छ।

प्रतिशेयर नेटवर्थ पनि १४६.१७ रुपैयाँबाट घटेर १४०.९२ रुपैयाँमा सीमित भएको छ। बैंकको वार्षिक इक्विटी प्रतिफल ऋणात्मक ०.७१ प्रतिशत र सम्पत्तिमाथिको प्रतिफल ऋणात्मक ०.०६ प्रतिशतमा झरेको छ।

यी सूचकले बैंकले सेयरधनीको पूँजी र आफ्नो सम्पत्ति प्रयोग गरेर प्रतिफल सिर्जना गर्न नसकेको देखाउँछन्।

बैंकभित्र प्रशासनिक भद्रगोलको आरोप

वित्तीय सूचकसँगै प्रभू बैंकको आन्तरिक प्रशासनसमेत कमजोर बनेको बैंकस्थित उच्च स्रोतको दाबी छ।

स्रोतका अनुसार कर्मचारीबीच गुटबन्दी बढेको, व्यवस्थापनले कर्मचारीलाई एकीकृत गरेर परिणाममुखी ढंगले परिचालन गर्न नसकेको र ‘फुटाऊ तथा शासन गर’ शैली अपनाएको आरोप सीईओ शर्मामाथि लाग्न थालेको छ।

ठूला समस्याग्रस्त कर्जाको असुली, ठूला ऋणीहरूसँग प्रत्यक्ष वार्ता र उच्च तहको रिकभरी रणनीतिमा सीईओ आफैँ अग्रसर हुनुपर्नेमा शर्माले त्यस्ता जिम्मेवारीबाट पन्छिने गरेको स्रोतको आरोप छ।

यी प्रशासनिक आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ। तर बैंककै प्रकाशित वित्तीय विवरणमा खराब कर्जा र कर्जा नोक्सानी व्यवस्था अस्वाभाविक रूपमा बढेको तथ्यले व्यवस्थापनको असुली रणनीति प्रभावकारी नभएको निष्कर्षलाई बल पुर्‍याउँछ।

‘गभर्नरको आशीर्वाद’को चर्चा, परिणामले दिएन साथ

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका अन्य दाबेदारलाई पछि पार्दै शर्मा प्रभू बैंकको सीईओ बनेका थिए। उनको नियुक्तिमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँगको निकटता र समर्थनले भूमिका खेलेको चर्चा बैंकिङ वृत्तमा चलेको थियो।

यस्तो दाबी पुष्टि गर्ने औपचारिक प्रमाण सार्वजनिक भएको छैन। तर राजनीतिक वा नियामकीय पहुँचको चर्चाबीच नियुक्त भएका सीईओको वास्तविक मूल्यांकन वित्तीय परिणामबाटै हुनुपर्ने हुन्छ।

त्यस आधारमा हेर्दा शर्माको प्रारम्भिक कार्यकाल उत्साहजनक होइन, गम्भीर रूपमा निराशाजनक देखिएको छ। उनले नेतृत्व लिएपछि बैंकको नाफा सुधारिएन, खराब कर्जा घटेन, कर्जा असुली प्रभावकारी भएन र सेयरधनीका प्रमुख प्रतिफल सूचक झन् ऋणात्मक बने।

राष्ट्र बैंकले किन नगर्ने विशेष परीक्षण?

प्रभू बैंकको प्रकाशित खराब कर्जा नै १५.५५ प्रतिशत पुगेको, नेट खराब कर्जा ६.२१ प्रतिशत रहेको, कर्जा नोक्सानी व्यवस्था अत्यधिक बढेको र बैंक खुद घाटामा गएको अवस्थामा नेपाल राष्ट्र बैंक केवल नियमित अनुगमनमा सीमित बस्न नहुने आवाज उठ्न थालेको छ।

बैंकको वास्तविक सम्पत्ति गुणस्तर, ठूला ऋणीको अवस्था, कर्जा पुनर्संरचना, कर्जा सदाबहार बनाइएको सम्भावना, धितोको यथार्थ मूल्य र आवश्यक प्रोभिजनिङबारे राष्ट्र बैंकले विशेष निरीक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।

बैंकलाई राष्ट्र बैंकले तत्काल ‘टेकओभर गर्नुपर्ने’ निष्कर्ष वित्तीय विवरण मात्रका आधारमा दिन मिल्दैन। त्यसका लागि नियामकीय निरीक्षण, पूँजी पर्याप्तता, तरलता, निक्षेपकर्ताको हित र संस्थागत सुशासनसम्बन्धी विस्तृत मूल्यांकन आवश्यक हुन्छ। तर अहिलेका सूचकले प्रभू बैंकमा नियामकले सघन निगरानी, विशेष परीक्षण वा आवश्यक परे शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने बहसलाई भने बलियो बनाएका छन्।

२० दिन कुरियो, सीईओ शर्मा बोलेनन्

बिजशालाले बैंकको बढ्दो खराब कर्जा, खस्किएको नाफा, ऋण असुलीको अवस्था, आन्तरिक प्रशासन तथा व्यवस्थापनमाथि उठेका प्रश्नबारे सीईओ सुमन शर्माको प्रतिक्रिया लिन पटक–पटक प्रयास गरेको थियो।

विषयवस्तुसहित प्रश्न पठाएर उनको जवाफका लागि करिब २० दिनसम्म प्रतीक्षा गर्दा पनि शर्माले समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया दिएनन्।

बैंकको वित्तीय अवस्था र नेतृत्वमाथि गम्भीर प्रश्न उठिरहेको बेला प्रमुख कार्यकारी अधिकृतले सार्वजनिक जवाफदेहिताबाट पन्छिनु आफैँमा अर्को प्रश्न बनेको छ। उनले पछि प्रतिक्रिया उपलब्ध गराएमा बिजशालाले त्यसलाई उचित स्थान दिनेछ।

प्रतिक्रिया

2 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
S

S***

बैंक संकटग्रस्त भइसक्यो । केन्द्रीय बैंकले सुमन शर्मालाई टिकाइराख्नलाई मात्र प्रभू बैंकमाथि हस्तक्षेप नगरेको हो भने यो आत्मघाती कदम हुनेछ । लाखौं जनताको निक्षेपको सुरक्षामा किन गम्भीर नभएको ? राष्टबैंकले किन टेकओभर नगरेको ?

47 मिनेट अगाडी
T

T***

नेपाली बैंकिंगमा सुमन शर्माको नेतृत्व कहिल्यै सफल भएन । प्रभू बैंकलाई उसले झनै धेरै डूबाउँछ, लेखेर राखे हुन्छ । गभर्नरका कारण मात्र टिकेको हो यो मान्छे ।

1 घण्टा अगाडी
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.