काठमाडौं । कास्कीको पर्यटकीय गन्तव्य रुपाकोटमा सञ्चालित रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी अगाडि बढाएको छ।
कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी द्विपक्षीय सम्झौता एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच सम्पन्न भएको छ।
सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत रुपाकोट रिसोर्टलाई प्रचलित कानुनबमोजिम आईपीओ निष्कासन गर्ने चरणसम्म आवश्यक सम्पूर्ण परामर्श तथा व्यवस्थापकीय सेवा उपलब्ध गराउनेछ।
कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कारोबारी कार्यालय रहेको रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त तथा रमणीय वातावरण, हिमशृङ्खलाको मनमोहक दृश्यसँगै रुपा र बेगनास तालको दृश्यावलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता हो।
पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले सेवा विस्तार गरिरहेको जनाएको छ।
रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीच सन्तुलन कायम गरी आवास, खानपान, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरेको छ। पारिवारिक भ्रमण, आन्तरिक तथा विदेशी पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्टलाई आकर्षक गन्तव्यका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवामार्फत विभिन्न क्षेत्रका कम्पनीलाई स्थापनाको प्रारम्भिक चरणदेखि पब्लिक कम्पनीमा रूपान्तरण र आईपीओ निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आईपीओमा ल्याउने सेयर संख्या, निष्कासनको समयतालिका तथा अन्य वित्तीय विवरण भने खुलाएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।