काठमाडौं । बीमालेखलाई बैंकको मुद्दती निक्षेप, ब्याज दिने योजना वा निश्चित प्रतिफल दिने लगानीका रूपमा बेच्ने प्रवृत्तिमाथि नेपाल बीमा प्राधिकरणले कडाइ गरेको छ । बीमा बजारमा बढ्दो ‘मिस–सेलिङ’, भ्रामक प्रचार र बीमालेख खरिद गरेको केही समयमै सरेन्डर गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई नयाँ निर्देशन जारी गरेको हो ।
प्राधिकरणले बीमा व्यवसायलाई बीमितको आर्थिक जोखिम हस्तान्तरण र वित्तीय सुरक्षासँग जोडिएको संवेदनशील सेवा भन्दै कुनै पनि योजना बिक्री गर्दा ग्राहकलाई सही, स्पष्ट, पूर्ण र तथ्यपरक जानकारी दिनुपर्ने स्पष्ट पारेको छ ।
नयाँ व्यवस्थाअनुसार अब कुनै पनि जीवन बीमा योजनालाई बैंक तथा वित्तीय संस्थाको ‘फिक्स्ड डिपोजिट प्लान’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’ वा ‘निश्चित लगानी प्रतिफल’का रूपमा प्रस्तुत गरेर बिक्री गर्न पाइने छैन ।
त्यस्तै, प्राधिकरणबाट स्वीकृत लाभ र बीमालेखमा उल्लेख भएका सर्तभन्दा बाहिर गएर निश्चित बोनस, प्रतिफल वा रकम प्राप्त हुने आश्वासन दिन पनि रोक लगाइएको छ ।
बीमा प्रस्ताव पेस गर्दा सम्बन्धित योजना कुनै पनि प्रकारको निक्षेप वा मुद्दती खाता नभएको कुरा बीमितलाई स्पष्ट रूपमा बुझाउनुपर्नेछ । ग्राहकको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत र उद्देश्यलाई हेरेर मात्रै उपयुक्त बीमा योजना सिफारिस गर्नुपर्ने प्राधिकरणको निर्देशन छ ।
सामाजिक सञ्जालको भ्रामक प्रचारमा पनि अंकुश
प्राधिकरणले विशेषगरी अभिकर्तामार्फत सामाजिक सञ्जालमा हुने अतिरञ्जित र भ्रामक प्रचारमा पनि कडाइ गरेको छ ।
अब बीमा कम्पनीले आधिकारिक रूपमा स्वीकृत गरेको प्रचार सामग्रीबाहेक अभिकर्ताले आफूखुसी सामग्री बनाएर बीमा योजनाको प्रचार गर्न पाउने छैनन् ।
बीमा कम्पनीहरूले आफ्ना अभिकर्ताले प्रयोग गर्ने बिक्री तथा प्रचार सामग्री नियमित परीक्षण गर्नुपर्नेछ । सामाजिक सञ्जालमा हुने प्रचारको अनुगमन गर्नुका साथै ग्राहकबाट आएका गुनासो तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको छ ।
मिस–सेलिङको छुट्टै अभिलेख राख्नुपर्ने
बीमा कम्पनीहरूले गलत बिक्रीसम्बन्धी गुनासोको छुट्टै अभिलेख राख्नुपर्नेछ । त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधानको अवस्था र सम्बन्धित व्यक्तिमाथि गरिएको कारबाहीको विवरण प्रत्येक त्रैमासमा अनिवार्य रूपमा प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणले बीमालेखको वास्तविक प्रकृति लुकाउने, गलत सूचना दिने, अतिरञ्जित प्रतिफल देखाउने वा भ्रामक प्रचारमार्फत बीमा बिक्री गर्ने कार्यलाई गम्भीर नियामकीय उल्लंघनका रूपमा लिने जनाएको छ ।
यस्ता गतिविधि भेटिए बीमा ऐन, २०७९ अनुसार कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
बढ्दो सरेन्डर रोक्ने लक्ष्य
बीमा योजना किन्ने बेला ग्राहकलाई वास्तविक सर्त, जोखिम, प्रतिफल र दायित्व स्पष्ट नबुझाइँदा पछि बीमालेख बीचमै त्याग्ने अर्थात् सरेन्डर गर्ने प्रवृत्ति बढेको प्राधिकरणको निष्कर्ष छ ।
विशेषगरी बचत वा लगानी योजनाजस्तो देखाएर बीमा बेच्ने र पछि अपेक्षित प्रतिफल नपाउँदा ग्राहक निराश हुने अवस्था बढेपछि नियामक निकायले कडाइ गरेको हो ।
प्राधिकरणको नयाँ निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन भए बीमा बजारमा गलत बिक्री घट्ने, अभिकर्ताको जवाफदेहिता बढ्ने र बीमितको हित थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।