काठमाण्डौ । मुलुक भोटेकोशी बाढीको भयावह विपत्तिसँग जुधिरहँदा खर्बौं रुपैयाँको आकार पुगेको सेयर बजार क्षेत्रले देखाएको उदासीनतामाथि बिजशालाले प्रश्न उठाएपछि बजारका केही संस्थागत खेलाडी र ब्रोकर कम्पनीहरू सहयोग घोषणामा उत्रिन थालेका छन्।
बिजशालाले आइतबार ‘देश विपत्तिमा, खर्बौंको सेयर बजार रमिते !’ शीर्षकमा विशेष रिपोर्ट प्रकाशित गर्दै ७० लाखभन्दा बढी लगानीकर्ता जोडिएको दाबी गरिने पूँजीबजारबाट सरकारी राहत कोषमा अत्यन्त न्यून सहयोग पुगेको तथ्य उजागर गरेको थियो।
समाचार प्रकाशित भएको भोलिपल्टै बजारसँग सम्बन्धित कम्पनीहरूबाट एकपछि अर्को सहयोग घोषणा सार्वजनिक हुनुलाई पूँजीबजारभित्र सिर्जना भएको नैतिक दबाब र सामाजिक उत्तरदायित्वप्रतिको जागरणका रूपमा हेर्न सकिन्छ। यद्यपि, ती घोषणाहरू बिजशालाको समाचारकै प्रत्यक्ष परिणाम भएको स्वतन्त्र पुष्टि भने भएको छैन।
हालसम्म प्राप्त विवरणअनुसार ब्रोकर नम्बर ५८ को नासा सेक्युरिटिजले सबैभन्दा धेरै ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ। कम्पनीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम उपलब्ध गराएको हो। मेरोलगानी र सेतोपाटीले पनि नासाको सहयोग पुष्टि गरेका छन्।
यसैगरी, नागरिक स्टक डिलर कम्पनी लिमिटेडले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २० लाख २५ हजार ८८७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। कम्पनीको कोष र कर्मचारीको एक दिनको तलब बराबरको रकम समेटेर सहयोग गरिएको हो।
ब्रोकर नम्बर ४ को ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट प्रालिले संस्थागत रूपमा १० लाख र कर्मचारीका तर्फबाट एक लाख रुपैयाँ गरी कुल ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
यस्तै, ब्रोकर नम्बर ४२ को सानी सेक्युरिटिजले रसुवाका बाढीप्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग घोषणा गरेको छ। कम्पनीले कठिन समयमा प्रभावित परिवारको जीवन पुनःसहज बनाउने प्रयासमा साथ रहने प्रतिबद्धता जनाएको छ।
यस आधारमा नासा सेक्युरिटिज, नागरिक स्टक डिलर, ओपल सेक्युरिटिज र सानी सेक्युरिटिजबाट मात्रै हालसम्म ९१ लाख २५ हजार ८८७ रुपैयाँ बराबरको सहयोग सार्वजनिक भएको छ।
प्रश्न अझै बाँकी छ
केही कम्पनीले देखाएको अग्रसरता सकारात्मक भए पनि अर्बौं रुपैयाँको दैनिक कारोबार हुने र खर्बौंको बजार पूँजीकरण बोकेको पूँजीबजारका लागि यो रकम अझै प्रारम्भिक मात्रै हो।
बजारको नियामक नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज, सीडीएस एन्ड क्लियरिङ, ब्रोकरहरूको छाता संगठन, मर्चेन्ट बैंकर, म्युचुअल फन्ड सञ्चालक तथा आफूलाई ठूलो संस्थागत लगानीकर्ता बताउने अधिकांश समूहबाट ठोस र सामूहिक सहयोग घोषणा सार्वजनिक भएको भेटिएको छैन।
पूँजीबजार नाफा कमाउने प्लेटफर्म मात्रै होइन, अर्थतन्त्र र समाजसँग जोडिएको संवेदनशील क्षेत्र पनि हो। बजार बढ्दा अर्बौंको सम्पत्ति सिर्जना भएको प्रचार गर्ने संस्थागत खेलाडीहरूले देशमाथि विपत्ति आइलाग्दा आफ्नो आकार र हैसियतअनुसार जिम्मेवारी पनि बहन गर्नुपर्छ।
बिजशालाको रिपोर्टले उठाएको मूल प्रश्न अझै जीवित छ-७० लाख लगानीकर्ताको प्रतिनिधित्व गर्ने भनिएको खर्बौंको सेयर बजारले राष्ट्रिय विपत्तिमा आफ्नो वास्तविक सामर्थ्यअनुसारको योगदान कहिले देखाउँछ ?
केही ब्रोकरले मौनता तोडेका छन्। अब नियामक, बजार सञ्चालक, ठूला संस्थागत लगानीकर्ता र बाँकी ब्रोकरहरूको पालो हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।