काठमाण्डौ । चीनको सिजाङ ९तिब्बत० क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले दुःख व्यक्त गर्दै राहतका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
संघ तथा सदस्य उद्योगहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो। निर्णयअनुसार संघका अध्यक्ष विकास दुगडले संघका अन्य सदस्यहरूको उपस्थितिमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ।
भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीबाट विभिन्न जिल्लाका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संघले प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारबाट शीघ्र कदम चालिनुपर्नेमा जोड दिएको छ।
बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु, बेपत्ता तथा घाइते भएको र घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा अपूरणीय क्षति पुगेको भन्दै संघले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ।
संघले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पूर्वाधार निर्माणमा समेत विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ। प्रभावित क्षेत्रमा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सक्रिय पहल, समयोचित निर्णय र समन्वय आवश्यक रहेको संघको भनाइ छ।
राष्ट्रिय एकता, सामाजिक सहकार्य तथा मानवीय भावनाअनुरूप विपद्को समयमा नागरिक तथा राष्ट्रप्रति जिम्मेवार रहँदै सहयोग गरिएको संघले जनाएको छ। यस्तो सहयोगले प्रभावित नागरिकको उद्धार तथा राहत अभियानमा केही योगदान पुग्ने अपेक्षा संघले गरेको छ।
संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
साथै, प्रभावित नागरिक तथा क्षेत्रको पुनःस्थापना र पूर्वाधार निर्माणलाई गति दिन नेपाल सरकारलगायत सबै सम्बन्धित पक्षको संवेदनशीलता, सक्रियता र सहकार्य आवश्यक रहेको संघले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।