काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको पूँजी बजारलाई केवल सेयर किनबेच र धितोपत्र कारोबारको माध्यममा सीमित नराखी उत्पादन, रोजगारी विस्तार र दीर्घकालीन आर्थिक वृद्धिका लागि पुँजी परिचालन गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल पूँजी बजार संवाद–२०२६ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रलाई बैंकमा आधारित वित्तीय प्रणालीबाट क्रमशः बजारमा आधारित वित्तीय प्रणालीतर्फ रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
उनले निजी क्षेत्रलाई उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन वित्तीय स्रोत सहज रूपमा उपलब्ध गराउन नसकेसम्म पूँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न नसक्ने धारणा राखे ।
अध्यक्ष अग्रवालले विगतमा दूरदर्शी नीति तथा स्पष्ट नियामकीय व्यवस्थाको अभावका कारण नेपालको सेयर बजारमा अनुमानमा आधारित कारोबार बढेको उल्लेख गर्दै बजारलाई वास्तविक अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
पूँजी बजारलाई केवल सेयर र धितोपत्र कारोबारको माध्यम मात्र नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पूँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्छ, उनले भने ।
उनले बजारमा नयाँ तथा गुणस्तरीय कम्पनीहरूको सार्वजनिक सेयर निष्कासन आवश्यक रहेको बताउँदै कम्पनी सानो वा मध्यम आकारको भएकै कारण पूँजी बजारमा प्रवेशबाट वञ्चित गर्न नहुने बताए । उचित योग्यता, आवश्यक जानकारी सार्वजनिक गर्ने व्यवस्था, लेखापरीक्षण र संस्थागत सुशासनका मापदण्डका आधारमा योग्य कम्पनीलाई बजारमा सहज प्रवेशको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
नेपालको पूँजी बजारमा सीमित कम्पनी र सीमित क्षेत्रको मात्र प्रभुत्व रहँदा बजारको विस्तार र विविधीकरण प्रभावित भएको उल्लेख गर्दै उनले कृषि, उद्योग, पर्यटन, प्रविधि, पूर्वाधार तथा अन्य उत्पादनशील क्षेत्रका कम्पनीलाई पूँजी बजारमा आकर्षित गर्नुपर्ने बताए ।
अध्यक्ष अग्रवालले गैरआवासीय नेपालीलाई नेपालको पूँजी बजारमा सहज रूपमा सहभागी गराउन स्पष्ट, सरल र डिजिटल व्यवस्था आवश्यक रहेको बताए । लगानी रकम भित्र्याउने, बैंक तथा विद्युतीय शेयर खाता खोल्ने, कर प्रक्रिया पूरा गर्ने र वैधानिक रूपमा प्राप्त प्रतिफल विदेश लैजाने विषयमा स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो ।
उनले पूँजी बजारको विकासका लागि नीतिगत स्थिरता र नियामक निकायबीचको प्रभावकारी समन्वय सबैभन्दा महत्वपूर्ण रहेको बताए । नीति, निर्देशन र कार्यविधिमा अप्रत्याशित परिवर्तन हुँदा लगानीकर्ताको विश्वास कमजोर हुने र बजारमा अनावश्यक अन्योल सिर्जना हुने उनको भनाइ थियो ।
महत्वपूर्ण नीतिगत परिवर्तन गर्नुअघि सरोकारवालासँग पर्याप्त परामर्श गर्नुपर्ने, परिवर्तनका लागि स्पष्ट समय उपलब्ध गराउनुपर्ने तथा बजारको अल्पकालीन उतारचढावका आधारमा तत्काल नियम परिवर्तन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने अध्यक्ष अग्रवालले बताए ।
अग्रवालले लगानीकर्ताको विश्वास कायम गर्न प्रभावकारी निगरानी, पारदर्शिता र आवश्यक सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने भए पनि सम्पूर्ण वैधानिक लगानी गतिविधिलाई शंकाको दृष्टिले हेर्न नहुने बताए ।
उनले नेपालको पूँजी बजारमा आधुनिक वित्तीय उपकरणको विकास आवश्यक रहेको बताउँदै शेयर उधारो दिने र लिने व्यवस्था तथा बजारमा खरिदबिक्रीलाई व्यवस्थित र सहज बनाउने आधुनिक प्रणाली चरणबद्ध रूपमा लागू गर्नुपर्ने बताए ।
“नेपालको पूँजी बजारमा सम्भावनाको कमी छैन। आवश्यकता सही नीति, विश्वसनीय कार्यान्वयन र समन्वित सुधारको हो,” अध्यक्ष अग्रवालले भने ।
उनले नेपालको आर्थिक रूपान्तरणका लागि बैंकिङ क्षेत्रसँगै बलियो, विश्वसनीय र पारदर्शी पूँजी बजारको विकास अपरिहार्य रहेको उल्लेख गर्दै निजी क्षेत्र, सरकार र नियामक निकायबीचको सहकार्यबाट मात्र पूँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको प्रभावकारी आधार बनाउन सकिने बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।