काठमाण्डौ । पृथ्वी राजमार्गको कृष्णभीरलगायत विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएपछि भरतपुर–काठमाण्डौ हवाई यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट काठमाण्डौ हुने हवाई उडानको संख्या दोब्बरभन्दा बढी पुर्याइएको छ।
हाल भरतपुरबाट काठमाण्डौका लागि बुद्ध एयरले मात्र नियमित उडान सञ्चालन गर्दै आएको छ। बुद्ध एयरको भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुर–काठमाण्डौ दैनिक ५ वटा उडान हुँदै आएकोमा सडकमार्ग असहज बनेपछि यात्रुको मागअनुसार उडान संख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्याइएको छ।
उनका अनुसार सडकमार्गबाट काठमाण्डौ आवतजावतमा समस्या भएपछि हवाई यात्रुको संख्या बढेको हो। यात्रुको चाप र आवश्यकताका आधारमा उडान संख्या दैनिक रूपमा समायोजन गरिएको उनले बताए।
भरतपुर–काठमाण्डौ रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। ७२ यात्रु क्षमताको उक्त जहाजले काठमाण्डौबाट भरतपुर आउँदा सामान्यतया ६५ देखि ७० जना यात्रु बोक्ने गर्छ। तर भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले काठमाडौं फर्किँदा पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने अवस्था रहेको बुद्ध एयरले जनाएको छ।
भरतपुरबाट काठमाण्डौ उडान गर्दा जहाजले करिब ५० जना यात्रु मात्र बोक्ने गरेको छ। यसका कारण सडकमार्ग प्रभावित हुँदा हवाई यात्रुको माग बढे पनि उपलब्ध उडान क्षमताले सबै यात्रुको माग तत्काल धान्न चुनौती देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।