काठमाण्डौ । हालसम्म २३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट हालसम्म २३ वटा म्युचुअल फण्डले मात्रै आफ्ना इकाइधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
सञ्चालनमा रहेका अधिकांश म्युचुअल फण्डले अझै लाभांश घोषणा नगर्दा इकाइधनीहरू लाभांश घोषणाको प्रतीक्षामा छन् ।
गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा म्युचुअल फण्डहरूले आफ्नो आम्दानी तथा मुनाफाको अवस्था मूल्याङ्कन गर्दै लाभांश वितरणको तयारी गर्ने गरेका छन् । तर, आर्थिक वर्ष सकिएको केही समय बितिसक्दा पनि सीमित फण्डले मात्रै लाभांश घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गरेका फण्डमध्ये सीमित योजनाले मात्रै १० प्रतिशतभन्दा बढी लाभांश दिने घोषणा गरेका छन् । अधिकांश म्युचुअल फण्डले भने इकाइधनीलाई १० प्रतिशतभन्दा कम दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
यसले म्युचुअल फण्डका इकाइधनीले अपेक्षा गरेअनुसारको आकर्षक प्रतिफल नपाउने अवस्था देखिएको छ ।
विशेषगरी १० प्रतिशतभन्दा बढी लाभांश दिने फण्डको संख्या न्यून हुँदा अधिकांश इकाइधनीले एकल अंकको प्रतिफलमै चित्त बुझाउनुपर्ने अवस्था देखिएको छ । लाभांश घोषणा गर्न बाँकी रहेका फण्डहरूले कति प्रतिफल दिने हुन् भन्ने विषयमा समेत इकाइधनीको चासो बढेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश दिने फण्डमा हिमालयन ८०–२० रहेको छ । यो फण्डले आफ्ना इकाईधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, सबैभन्दा थोरै लाभांश दिनेमा मुक्तिनाथ म्युचुअल फण्ड–१ रहेको छ यो फण्डले जम्मा २.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
म्युचुअल फण्डहरूको लाभांश घोषणा उनीहरूको लगानीबाट भएको आम्दानी, सेयर बजारको अवस्था, प्राप्त लाभ तथा फण्डको समग्र वित्तीय प्रदर्शनमा निर्भर रहने गर्छ । विशेषगरी बजारमा गरिएको लगानीबाट भएको नाफा तथा अन्य आम्दानीले फण्डको प्रतिफल निर्धारणमा महत्वपूर्ण भूमिका खेल्छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।