- शिवराम ढकाल
१. प्राथमिक बजारमा योग्यता र मूल्य अन्वेषण (Price Discovery)
बुँदाको व्यवस्था: धितोपत्रको प्राथमिक बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्न सामान्य योग्यतासम्बन्धी निर्देशिका नेपाल धितोपत्र बोर्ड (बोर्ड) ले तत्काल जारी गर्ने। बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्कासनका लागि जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि, औषधि उद्योगका लागि विशिष्ट योग्यता, मूल्य अन्वेषण (Price Discovery) प्रणाली, धितोपत्र बन्डफोट प्रणालीलगायतका नीतिगत एवं कानूनी सुधार बोर्डले तर्जुमा गरी २०८३ पुस मसान्तभित्र लागू गर्ने।
उदाहरण तथा प्रभाव: कुनै नयाँ उत्पादनमूलक वा कृषिमा आधारित कम्पनीले प्राथमिक सेयर निष्कासन गर्दा अब निश्चित निर्देशिका पूरा गर्नुपर्नेछ। बुक विल्डिङ वा मूल्य अन्वेषण प्रणालीमार्फत कम्पनीको वास्तविकित मूल्य बजारले नै तोक्न सक्नेछ, जसले गर्दा कमजोर कम्पनीहरूले पनि आफूखुसी महँगो मूल्यमा सेयर बेच्ने प्रवृत्तिको अन्त्य भई लगानीकर्ताको हित सुरक्षित हुन्छ।
२. म्युचुअल फन्डलाई सुदृढ बनाउने:
बुँदाको व्यवस्था: ऋणपत्र बजार, मुद्रा बजार, इटीएफ (ETF) जस्ता उपकरण विकास गर्न म्युचुअल फन्डलाई व्यावसायिक, विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधिमैत्री र दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउन बोर्डले यससम्बन्धी नीति तत्काल सार्वजनिक गरी २०८३ मंसिर मसान्तभित्र निर्देशिका एवं अन्य आवश्यक पूर्वाधारको व्यवस्था गर्ने।
उदाहरण तथा प्रभाव: म्युचुअल फन्डहरूले अब केवल साधारण सेयरमा मात्र सीमित नरहेर सरकारी तथा कर्पोरेट ऋणपत्रहरू र इटीएफमा समेत लगानी विस्तार गर्नेछन्। यसले बजारमा स्थायी र व्यावसायिक लगानी बढाउँछ।
३. धितोपत्र दलाल (Broker) व्यवसायको संस्थागत सुधार:
बुँदाको व्यवस्था: धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरण नीति बोर्डले तत्काल सार्वजनिक गर्ने। यसबाट यस्ता व्यवसायीहरूलाई प्रचलित अन्तर्राष्ट्रिय अभ्यास तथा मापदण्ड अनुरूप आधुनिक, व्यावसायिक, सुदृढ, प्रविधिमैत्री र बहुआयामिक धितोपत्र वित्तीय सेवा प्रदान गर्ने संस्थाको रूपमा रूपान्तरण गर्ने।
उदाहरण तथा प्रभाव: ब्रोकर कार्यालयहरू अब सामान्य शेयर खरिद–बिक्री गरिदिने एजेन्ट मात्र नरहेर मार्जिन लेन्डिङ, पोर्टफोलियो म्यानेजमेन्ट र अनुसन्धान सेवा जस्ता बहुआयामिक वित्तीय सेवा प्रदान गर्ने आधुनिक हबको रूपमा विकास हुनेछन्।
४. धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन:
बुँदाको व्यवस्था: धितोपत्रसम्बन्धी ऐन, २०६३ मा समसामयिक सुधार गर्न धितोपत्रसम्बन्धी नियामक र बजार पूर्वाधारहरूैसँगसम्बन्धी छुट्टाछुट्टै विधेयकको मस्यौदा तत्काल तर्जुमा गर्ने। यसबाट मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार (Intraday Trading), धितोपत्र सापती तथा उधारो (Securities Lending & Borrowing), सर्ट सेलिन (Short Selling) लगायतका धितोपत्र उपकरण सञ्चालनको व्यवस्था मिलाउने।
उदाहरण तथा प्रभाव: बजारमा लगानीकर्ताले बजार घटेको बेला पनि कमाउन सक्ਣ 'सर्ट सेलिन' वा 'धितोपत्र सापटी' जस्ता आधुनिक औजारहरू कानुनसम्मत रूपमा प्रयोग गर्न बाटो खुल्नेछ।
५. नेप्से (NEPSE) को पुनर्संरचना:
बुँदाको व्यवस्था: नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धिका लागि नेपाल सरकारबाट गठित कार्यदलले २०८२ पुस २५ मा पेस गरेको प्रतिवेदन अनुरूप नेप्सेको पुनर्संरचना कार्य तत्काल अगाडि बढाउने।
उदाहरण तथा प्रभाव: नेप्सेको कार्यप्रणाली, प्राविधिक संरचना र स्वामित्व ढाँचामा सुधार आएर यसलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी एक्सचेन्जमा रूपान्तरण गर्न मद्दत पुग्नेछ।
६. नयाँ बेन्चमार्क इन्डेक्स (Benchmark Index):
बुँदाको व्यवस्था: नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोबारयोग्य शेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन, सूचना प्रवाहको स्थिति जस्ता सूचकको आधारमा धितोपत्र बजारको नयाँ आधारभूत सूचकङ्क (Benchmark Index) २०८३ मंसिर मसान्तभित्र प्रयोगमा ल्याउने।
उदाहरण तथा प्रभाव: हालको नेप्से परिसूचकले मात्र समग्र बजारको वास्तविक चित्र नदेखाउन सक्ने हुँदा, राम्रा र सबल कम्पनीहरूको वित्तीय स्थिति तथा तरलता समेटिएको वैज्ञानिक 'बेन्चमार्क इन्डेक्स' ले लगानीकर्तालाई सहि निर्णय लिन सहयोग गर्नेछ।
७. गैरआवासीय नेपाली (NRN) को लगानी सहजीकरण:
बुँदाको व्यवस्था: गैरआवासीय नेपाली (NRN) लाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा गरिनुपर्ने संशोधन प्रस्ताव २०८३ असोज मसान्तभित्र नेपाल सरकार मन्त्रिपरिषदमा पेस गर्ने।
उदाहरण तथा प्रभाव: विदेशमा बस्ने नेपालीहरूले आफ्नो आर्जन नेपालको शेयर बजारमा कानुनी रूपमा सहजै लगानी गर्न सक्ने बाटो खुल्नेछ, जसले बजारमा बाह्य विदेशी मुद्रा र ठूलो लगानी भित्र्याउन सघाउ पुर्याउनेछ।
८. संस्थागत ऋणपत्र बजार (Corporate Bond Market) को विकास:
बुँदाको व्यवस्था: संस्थागत ऋणपत्र बजार (Corporate Bond Market) को विकास गर्दै बैंकमा आधारित वित्तपोषणबाट बजारमा आधारित वित्तपोषणको प्रवर्द्धन गर्ने। संस्थागत ऋणपत्र बजार विकास गर्न बोर्डले सार्वजनिक गरेको ऋणपत्रसम्बन्धी नियमावलीमा आवश्यक परिमार्जनसहित २०८३ असोज मसान्तभित्र कार्यान्वयनमा ल्याउने।
उदाहरण तथा प्रभाव: ठूला उद्योग तथा कर्पोरेसनहरूले बैंकको मात्र मुख नताकी सीधा आम जनता वा संस्थागत लगानीकर्ताबाट ऋणपत्रमार्फत ठूलो पुँजी संकलन गर्न सक्ने प्रणाली सहज बन्नेछ।
९. विशिष्टीकृत ऋणपत्रहरूको सुरुआत:
बुँदाको व्यवस्था: हरित ऋणपत्र, विपद ऋणपत्र, सामाजिक ऋणपत्र, परियोजना विशेष ऋणपत्र, पर्यावरण ऋणपत्र जस्ता विशिष्टीकृत ऋणपत्र जारी गर्न प्रोत्साहन गर्ने र यस्तो रकमको लगानी तथा सोको जानकारी जस्ता विषय समेटी २०८३ असोज मसान्तभित्र नीति तर्जुमा गर्ने।
उदाहरण तथा प्रभाव: पर्यावरणमैत्री ऊर्जा परियोजना वा विशेष सामाजिक कार्यका लागि छुट्टै 'हरित बण्ड' (Green Bond) जारी गरी लगानी जुटाउने नवीन संस्कृति विकास हुनेछ।
१०. ट्रेजरी बिल र विकास ऋणपत्रको सक्रिय दोस्रो बजार:
बुँदाको व्यवस्था: ट्रेजरी बिल र विकास ऋणपत्रहरूको सक्रिय दोस्रो बजार सुनिश्चित हुने गरी कारोबार शुल्कमा पुनरावलोकन गरी २०८३ असोज मसान्तभित्र बोर्डले नीतिगत एवं बजार पूर्वाधार तयार गर्ने।
उदाहरण तथा प्रभाव: सरकारले जारी गर्ने सुरक्षित सरकारी ऋणपत्रहरू (Treasury Bills & Development Bonds) पनि शेयर बजारजस्तै दोस्रो बजारमा सजिलै खरिद–बिक्री गर्न सकिने व्यवस्थाले लगानीकर्तालाई विकल्प दिनेछ।
११. शेयर स्प्लिट (Share Split) र शेयर खरिद (Buy Back)
बुँदाको व्यवस्था:
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत संगठित संस्थाको प्रबन्धपत्र र नियमावलीमा रहेको व्यवस्था अनुरूप "कम्पनीको सबै वा केही शेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन (Share Split) सम्बन्धमा तथा कम्पनीले लाभांशको रूपमा वितरण हुन सक्ने सञ्चित मुनाफाको रकमबाट कम्पनीले आफ्नो शेयर आफैँ खरीद (Buy Back) गर्न सक्ने" व्यवस्थालाई व्यवहारिक र कार्यान्वयन गर्न सरोकारवालाहरूसँग परामर्श गरी बोर्डले २०८३ माघ मसान्तभित्र नियामककीय एवं नीति–नियम लगायतका पूर्वाधार तयार गर्ने।
उदाहरण तथा प्रभाव: यदि कुनै महँगो कम्पनीको सेयर मूल्य धेरै छ भने त्यसलाई टुक्राएर (Split) साना लगानीकर्ताको पहुँचमा पुर्याउन सकिनेछ। साथै, कम्पनीसँग पर्याप्त मुनाफा हुँदा आफ्नो सेयर आफैँ बजारबाट खरिद (Buy Back) गरेर मूल्य स्थायित्व कायम गर्न सक्नेछन्।
१२. विभिन्न नियमावलीहरूको समयानुकूल स्वीकृति:
बुँदाको व्यवस्था: ऋणपत्र नियमावली, मार्जिन ऋण कारोबार नियमावली, अन्तरदिवसीय कारोबार नियमावली लगायतका नियम तथा निर्देशनहरूलाई २०८३ असोज मसान्तभित्र नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयनको व्यवस्था मिलाउने।
उदाहरण तथा प्रभाव: बजार सञ्चालनका लागि आवश्यक परेका रोकिएका सम्पूर्ण कार्यविधि तथा नियमावलीहरू निश्चित समयसीमाभित्र मन्त्रालयबाट पास भई कानुनी अड्चन हट्नेछ।
१३. मार्जिन ऋण कारोबारको कार्यान्वयन:
बुँदाको व्यवस्था: शेयर खरिद गर्ने प्रणालीलाई आधुनिक, व्यवस्थित र रूपान्तरण गर्दै बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन ऋण कारोबार नियमावली अनुसार ऋण लिई लगानी गर्ने व्यवस्था २०८३ पुस मसान्तभित्र सञ्चालनमा ल्याउने।
उदाहरण तथा प्रभाव: लगानीकर्ताले ब्रोकरमार्फत औपचारिक रूपमा धितो राखेर ऋण सुविधा लिई शेयर बजारमा लगानी गर्न सक्नेछन्, जसले बजारमा तरलता थप्नेछ।
१४. धितोपत्र ऐन संशोधन र अपराध अनुसन्धान:
बुँदाको व्यवस्था: धितोपत्रसम्बन्धी कसूरको जाँचबुझ तथा अनुसन्धान कार्य नेपाल धितोपत्र बोर्डबाट हुने, प्राइभेट कम्पनीले ऋणपत्र जारी गर्न सक्ने लगायतका व्यवस्था समाविष्ट गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन कार्य अगाडि बढाउने।
उदाहरण तथा प्रभाव: भित्री कारोबार (Insider Trading) वा मूल्यमा खेलबाड गर्नेहरूमाथि छानबिन गर्ने अधिकार अब धितोपत्र बोर्डले नै प्रभावकारी रूपमा प्रयोग गरी कारबाही गर्न सक्ने कानुनी अधिकार बलियो हुनेछ।
१५. संस्थागत लगानीकर्ताहरूको प्रवेश:
बुँदाको व्यवस्था: धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा संस्थागत लगानीकर्ताहरूको प्रवेश सुनिश्चित गर्ने गरी २०८३ असोज मसान्तभित्र नीतिगत, कानूनी एवं पूर्वाधारको व्यवस्था गर्न सम्बन्ध्त निकायले निम्नुसारको व्यवस्था मिलाउने:
(क) संस्थागत लगानी नीति एवं उक्त नीतिलाई कार्यान्वयन गर्ने गरी बोर्डले तर्जुमा गरेका नियम, निर्देशिका एवं नियामककीय व्यवस्था अनुकूल हुने गरी २०८३ मंसिर मसान्तभित्र संस्थागत लगानीकर्ताहरूको लगानी नीति कारोबार संरचना एवं पूर्वाधारको व्यवस्था तयार गर्न आवश्यक कानूनी एवं अन्य सुधार बोर्डले गर्ने।
(ख) धितोपत्रको प्राथमिक बजारमा संस्थागत लगानीकर्ताहरूको सहभागिता हुने गरी संस्थागत लगानीकर्तासम्बन्धी नीति, नियम र निर्देशिकािमार्फत सहजीकरण बोर्डले गर्ने।
उदाहरण तथा प्रभाव: कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता ठूला संस्थाहरूलाई प्राथमिक तथा दोस्रो बजारमा व्यवस्थित ढङ्गले छिर्ने बाटो खुल्नेछ, जसले बजारलाई हल्लाको भरमा भत्किनबाट बचाउँछ।
१६. बैंक निक्षेप केन्द्रित संस्थागत पुँजीको Portfolio Rebalancing:
बुँदाको व्यवस्था: बैंक निक्षेपमा अधिक केन्द्रित संस्थागत लगानीकर्ताहरूको पोर्टफोलियोलाई पुनःसन्तुलित (Rebalancing) बनाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, म्युचुअल फन्ड लगायतका संस्थागत लगानीकर्तालाई धितोपत्रहरूमा लगानी गर्न २०८३ मंसिर मसान्तभित्र कानूनी, नीतिगत तथा संरचनागत सहजीकरण गर्ने।
उदाहरण तथा प्रभाव: बैंकको कम ब्याजदरको मुद्दती खातामा मात्र थुपारिएर बसेको अर्बौं रूपैयाँको संस्थागत कोषलाई सुरक्षित रूपमा शेयर, ऋणपत्र तथा पूर्वाधारका साधनहरूमा विविधीकरण (Rebalance) गर्न मार्गप्रशस्त हुनेछ।
१७. CDSC को संस्थागत क्षमता अभिवृद्धि:
बुँदाको व्यवस्था: धितोपत्र बजारमा नयाँ धितोपत्र वित्तीय सेवाको प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय निक्षेप सेवा प्रणाली सञ्चालन गरिरहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गर्नाका साथै संरचनागत सुधारसम्बन्धी २०८३ फागुन मसान्तभित्र अध्ययन सम्पन्न गर्ने।
उदाहरण तथा प्रभाव: अनलाइन कारोबार बढ्दै जाँदा क्लियरिङ र सेटलमेन्टमा आउने ढिलाइ वा प्राविधिक समस्याहरूलाई सधैँका लागि अन्ਤ गर्न सिडिएससीको क्षमता सुदृढ बनाइनेछ।
१८. Start-up, Private Equity (PE) र Venture Capital (VC) को विकास:
बुँदाको व्यवस्था: प्रारम्भिक चरणका उद्यम, नवप्रवर्तनमा आधारित व्यवसाय, उच्च वृद्धि सम्भावना भएका साना तथा मझौला उद्यम, प्रविधिमा केन्द्रित व्यवसाय तथा उच्च जोखिमयुक्त तथा उच्च प्रतिफल दिन सक्ने सम्भावना भएका परियोजनाहरूलाई आवश्यक पुँजी उपलब्ध गराउने गरी स्थापना भएका प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई PE/VC क्षेत्रमा लागू हुने अन्तर्राष्ट्रिय असल अभ्यास अनुरूप उपयुक्त वर्गीकरण एवं जोखिममा आधारित नियामककीय ढाँचा, पुँजी परिचालन, लगानी, लाभांश, पुँजी फिर्ता तथा लगानीबाट बाहिरिने प्रक्रियालाई सहज, पारदर्शी र नियमनयोग्य बनाउन आवश्यक अध्ययनसहित सरोकारवालाहरूसँग परामर्श गरी बोर्डले २०८३ पुस मसान्तभित्र कानूनी तथा बजार पूर्वाधार तयार गर्ने।
उदाहरण तथा प्रभाव: कुनै आईटी वा कृषि क्षेत्रको स्टार्टअप कम्पनीलाई धितो विना नै जोखिम मोलेर भेन्चर क्यापिटलमार्फत इक्विटी लगानी भित्र्याउन सजिलो कानुनी आधार तयार हुनेछ।
१९. बैंक तथा वित्तीय संस्थाको शेयर बजार लगानीको संयुक्त पुनरावलोकन:
बुँदाको व्यवस्था: बैंक तथा वित्तीय संस्थाको पूँजी बजारमा भएको लगानीलाई पुँजी परिचालन, प्रत्यक्ष तथा अप्रत्यक्ष जोखिम (Exposure), अन्तरसम्बद्धता र श्रृंखलाबद्ध प्रभाव, वित्तीय स्वार्थ, प्रणालीगत जोखिम, तरलता र प्रतिफल लगायतका समग्र विषय साथै निक्षेपकर्ताको सुरक्षालाई मध्यनजर गरी लगानीसम्बन्धी विद्यमान सीमा, जोखिम भार, धितो पर्याप्तता लगायतका समग्र व्यवस्थालाई बोर्ड र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा हालको व्यवस्थाको २०८३ कात्तिक मसान्तभित्र पुनरावलोकन गर्ने।
उदाहरण तथा प्रभाव: बैंकहरूको निक्षेप रकम शेयर बजारमा अत्यधिक speculative रूपमा प्रयोग भए नभएको जाँच गरी निक्षेपकर्ताको हित सुरक्षित गर्ने किसिमले लगानीको जोखिम भार र सीमाहरूको वैज्ञानिक पुनरावलोकन गरिनेछ।
२०. दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने कर सुधार:
बुँदाको व्यवस्था: धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गरी लगानीमैत्री बनाउन विद्यमान कर व्यवस्थामा निम्नानुसार सुधार गर्ने:
(क) बोर्डमा सूचीकरण भएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय ६१ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.७५ प्रतिशत र तीन सय ६१ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत कायम गर्ने।
(ख) सूचीकृत धितोपत्रको नि:सर्गबाट भएको नोक्सानी समायोजन: दफा ९५ को उपदफा (२) को खण्ड (क) बमोजिम कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै वर्षमा सूचीकृत धितोपत्रको नि:सर्गबाट दफा ३७ बमोजिम गणना गरिएको नोक्सानी बेहोर्नु परेमा त्यस्तो नोक्सानी सोही वर्षमा सूचीकृत धितोपत्रको नि:सर्गबाट गर्दा घाटा समायोजन गर्न पाउने व्यवस्था सम्बन्धित अध्ययनसहित लाभकर गणना विधिमा सुधार गरी नाफा/घाटा कारोबार तथा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभ भएमा मात्र उल्लिखित दरमा पुँजीगत लाभकर अन्तिम करको रूपमा लिने व्यवस्था गर्ने।
उदाहरण तथा प्रभाव: एक वर्षभन्दा बढी समयसम्म (दीर्घकालीन रूपमा) शेयर होल्ड गर्ने लगानीकर्तालाई करमा सहुलियत (३.७५%) दिइनेछ भने कारोबार गर्दा भएको घाटालाई नाफ ० सँग समायोजन गर्न पाउने व्यवस्थाले लगानीकर्तालाई ठूलो राहत दिनेछ।
२१. बैंक तथा वित्तीय संस्थाको लगानीमा न्यूनतम ४५ दिनको होल्डिङ पिरियड:
बुँदाको व्यवस्था: बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले Speculative Risk न्यूनीकरण हुने गरी यस्ता लगानीको आवधिक सीमा कम्तीमा ४५ दिन हुने गरी लगानी नीति निर्धारण गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले यथाशीघ्र मिलाउने।
उदाहरण तथा प्रभाव: बैंकहरूले आज सेयर किनेर भोलि नै बेचेर अल्पकालीन नाफा कमाउने (सट्टेबाजी) प्रवृत्तिलाई पूर्ण रूपमा अंकुश लगाउँदै कम्तीमा ४५ दिन होल्ड गर्नुपर्ने नियमले बजारमा स्थिरता ल्याउनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।