काठमाण्डौ । भोटेकोशी बाढीपछि पुरिएको रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र खोजीका क्रममा तीन वटा शव र एउटा मानव अङ्ग फेला परेको छ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त खोज तथा उद्धार टोलीले बुधबार सुरुङभित्रबाट ती शव तथा मानव अङ्ग निकालेको हो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङभित्र करिब ७० मिटर प्रवेश गरेका गोताखोरको टोलीले तीन वटा सग्लो शव र एउटा मानव अङ्ग फेला पारेको हो।
भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो।
बाढीपछि चिलिमे हाइड्रोको सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलीले निरन्तर खोज तथा उद्धार गर्दै आएको छ।
सुरुङभित्र लेदो, ठूला ढुङ्गा तथा अन्य अवरोधका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले अवरोध हटाउँदै सुरुङको भित्री भागसम्म पुगेर खोजीलाई निरन्तरता दिइरहेको छ।
बुधबार शव फेला परेसँगै सुरुङभित्र बेपत्ता भएकाहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य थप केन्द्रित गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।