काठमाडौं। सूचीकृत कम्पनीबाट आधारभूत सेयरधनी बाहिरिने क्रम चलिरहेका बेला अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई ठूला सेयरधनीले पनि आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई गराएको जानकारीअनुसार आधारभूत सेयरधनी चन्दना कुमारी खड्का र अर्जुनप्रसाद गौतमले कुल एक लाख ३० हजार ६०१ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन्।
खड्काले आफ्नो स्वामित्वमा रहेको ५५ हजार ६०१ कित्ता तथा गौतमले ७५ हजार कित्ता सेयर बिक्री गर्न चाहेका छन्। उनीहरूले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने आशयसहित भदौ ३१ गते कम्पनीमा निवेदन दिएका हुन्।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा १ तथा नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई दिएको निर्देशनअनुसार कम्पनीले सेयर बिक्रीसम्बन्धी जानकारी सार्वजनिक गरेको हो।
प्रचलित व्यवस्थाअनुसार सूचीकृत कम्पनीको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीमार्फत सार्वजनिक जानकारी गराउनुपर्छ। यही व्यवस्थाअन्तर्गत अपर हेवाखोलाले नेप्से, धितोपत्र बोर्ड तथा सम्बन्धित नियामक निकायलाई पत्र पठाएको हो।
आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने सूचना सार्वजनिक गरेपछि कम्पनीको दोस्रो बजार मूल्य र लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पर्न सक्ने देखिन्छ। बजारमा एकैपटक ठूलो आपूर्ति आएमा बिक्रीचाप बढ्न सक्ने भएकाले अब यी सेयर कसरी, कुन मूल्यमा र कति चरणमा बिक्री हुन्छन् भन्ने विषय लगानीकर्ताका लागि चासोपूर्ण हुनेछ।
पछिल्लो समय विभिन्न सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले आफ्नो स्वामित्व घटाउँदै सेयर बिक्रीको सूचना निकाल्ने क्रम बढेको छ। यही क्रममा अपर हेवाखोलाका दुई आधारभूत सेयरधनीले पनि एक लाख कित्ताभन्दा बढी सेयर बजारमा ल्याउने तयारी गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।