काठमाडौं। विश्वका उत्कृष्ट सहरहरूको सूचीमा अमेरिकाको न्यूयोर्कले पुनः आफ्नो दबदबा कायम गरेको छ। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ‘ग्लोबल सिटिज इन्डेक्स–२०२६’ मा न्यूयोर्क विश्वकै उत्कृष्ट सहर घोषित हुँदा नेपालको राजधानी काठमाडौं भने ६८७औँ स्थानमा सीमित भएको छ।
सूचकांकले काठमाडौंको अर्थतन्त्र र मानवीय क्षमताको तुलनामा यहाँको जीवनस्तर निकै कमजोर रहेको देखाएको छ। मूल्यांकन गरिएका पाँचमध्ये कुनै पनि सूचकमा काठमाडौं विश्वका शीर्ष ५०० सहरभित्र पर्न सकेको छैन। जीवनस्तरमा त काठमाडौं ८४०औँ स्थानमा झरेको छ, जुन राजधानीको सहरी व्यवस्थापन, आवास खर्च, सार्वजनिक सुविधा, स्वास्थ्य, सुरक्षा तथा बसोबासको सहजतामाथि गम्भीर प्रश्न उठाउने नतिजा हो।
अक्सफोर्ड इकोनोमिक्सले विश्वका एक हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय पुँजी, जीवनस्तर, वातावरण र सुशासन गरी पाँच प्रमुख आधारमा मूल्यांकन गरेर समग्र वरीयता तयार गरेको हो।
सूचीमा न्यूयोर्कले शतप्रतिशत अर्थात् १०० अंक प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको छ। बेलायतको लन्डन ९८.८ अंकसहित दोस्रो र फ्रान्सको पेरिस ९३.४ अंकसहित तेस्रो स्थानमा छन्।
पहिलो तीन स्थानपछि पनि अमेरिका नै प्रभावशाली देखिएको छ। सियाटल चौथो र सान फ्रान्सिस्को पाँचौँ स्थानमा रहँदा आयरल्यान्डको डब्लिन छैटौँ स्थानमा परेको छ। अमेरिकाकै बोस्टन सातौँ र सान होजे आठौँ स्थानमा छन्। जापानको टोकियो नवौँ तथा स्विट्जरल्यान्डको ज्युरिख दशौँ स्थानमा परेका छन्।
विश्वका उत्कृष्ट १० सहरमध्ये पाँचवटा अमेरिकाका हुनु आर्थिक सामर्थ्य, नवप्रवर्तन, रोजगारी र मानव संसाधनमा अमेरिकी सहरहरूको प्रभाव अझै बलियो रहेको संकेत हो।
काठमाडौंको सबैभन्दा कमजोर पक्ष जीवनस्तर
काठमाडौं समग्र वरीयतामा ६८७औँ स्थानमा छ। पाँचवटा सूचकमा प्राप्त स्थान हेर्दा मानवीय पुँजीमा काठमाडौंको अवस्था तुलनात्मक रूपमा राम्रो देखिए पनि जीवनस्तर अत्यन्त कमजोर छ।
यो तथ्यांकले काठमाडौंमा दक्ष जनशक्ति र मानवीय सम्भावना रहे पनि त्यसलाई आर्थिक अवसर, व्यवस्थित सहरी सेवा र गुणस्तरीय जीवनमा रूपान्तरण गर्न नसकिएको देखाउँछ।
मानवीय पुँजीमा ५६२औँ स्थान काठमाडौंका लागि पाँच सूचकमध्येकै सबैभन्दा राम्रो नतिजा हो। तर यही सहर अर्थतन्त्रमा ६७०औँ र जीवनस्तरमा ८४०औँ स्थानमा रहनुले उपलब्ध जनशक्ति र सहरले दिने अवसर तथा सुविधाबीच ठूलो अन्तर रहेको संकेत गर्छ।
वातावरणमा ६३९औँ स्थानले वायु प्रदूषण, फोहोर व्यवस्थापन, हरियाली क्षेत्र, यातायात प्रणाली र जलवायु जोखिमसँग सम्बन्धित चुनौती उजागर गरेको छ। सुशासनमा ६३५औँ स्थानले पनि योजना कार्यान्वयन, सार्वजनिक सेवा, संस्थागत प्रभावकारिता र सहरी व्यवस्थापनमा सुधारको ठूलो खाँचो देखाउँछ।
किन जीवनस्तरमा काठमाडौं निकै पछाडि?
जीवनस्तरको मूल्यांकन गर्दा प्रतिव्यक्ति आम्दानी, आर्थिक असमानता, घरभाडा तथा आवास खर्च, औसत आयु, अपराधको अवस्था, मनोरञ्जनका अवसर र सांस्कृतिक सुविधाजस्ता विषयलाई आधार बनाइएको छ।
काठमाडौंमा घरजग्गा तथा आवासको उच्च लागत, अव्यवस्थित सहरी विस्तार, ट्राफिक चाप, प्रदूषण, पर्याप्त खुला क्षेत्रको अभाव र सार्वजनिक सेवाको कमजोर गुणस्तरले जीवनस्तरको वरीयतामा प्रतिकूल प्रभाव पारेको देखिन्छ।
राजधानीमा शिक्षा, स्वास्थ्य, रोजगारी र प्रशासनिक अवसर केन्द्रित भए पनि ती सेवामा समान पहुँच, सहरी सहजता र बसोबासको गुणस्तर कमजोर रहनु काठमाडौंको मुख्य विरोधाभास बनेको छ।
जीवनस्तरमा क्यानबेरा विश्वकै उत्कृष्ट
समग्र सूचीमा ४५औँ स्थानमा रहेको अस्ट्रेलियाको राजधानी क्यानबेरा भने जीवनस्तरका हिसाबले विश्वकै उत्कृष्ट सहर बनेको छ। यसले आर्थिक आकार ठूलो हुँदैमा मात्र सहर बस्नयोग्य नहुने देखाउँछ।
सहरको समग्र उत्कृष्टता आर्थिक सामर्थ्यसँगै सुरक्षित आवास, स्वास्थ्य, वातावरण, समान अवसर, सार्वजनिक सुविधा र प्रभावकारी शासनमा निर्भर रहने प्रतिवेदनको निष्कर्ष छ।
अर्थतन्त्रमा अमेरिकी सहरको एकाधिकारजस्तै
अर्थतन्त्र सूचकका शीर्ष आठमध्ये सातवटा सहर अमेरिकाका छन्। न्यूयोर्क पहिलो स्थानमा रहँदा त्यसपछि लस एन्जलस, सान होजे, सियाटल, सान फ्रान्सिस्को र डल्लासलगायत अमेरिकी सहर अगाडि छन्। बेलायतको लन्डन सातौँ स्थानमा रहेको छ।
यो वरीयताले विश्व अर्थतन्त्रमा वित्तीय सेवा, प्रविधि, नवप्रवर्तन, कर्पोरेट मुख्यालय र उच्च मूल्यका रोजगारीका क्षेत्रमा अमेरिकी सहरको प्रभुत्व कायमै रहेको देखाउँछ।
मानवीय पुँजीमा लन्डन, वातावरणमा होनोलुलु
मानवीय पुँजी सूचकमा लन्डन विश्वकै पहिलो सहर बनेको छ। त्यसपछि दुबई, टोकियो, रियाद, न्यूयोर्क, आबुधाबी, पेरिस र सेन्जेन क्रमशः दोस्रोदेखि आठौँ स्थानमा छन्।
यो सूचकले शैक्षिक उपलब्धि, दक्ष जनशक्ति, विश्वविद्यालय, व्यावसायिक प्रतिभा, जनसांख्यिक अवस्था र विश्वव्यापी प्रतिभा आकर्षित गर्ने सहरको क्षमतालाई प्रतिनिधित्व गर्छ।
वातावरणीय सूचकमा अमेरिकाको होनोलुलु पहिलो स्थानमा छ। त्यसपछि ब्राजिलको फोर्टालेजा, नर्वेको बर्गेन, न्युजिल्यान्डको वेलिङ्टन, ब्राजिलको अराकाजु, फिजीको सुभा, स्विडेनको स्टकहोम र स्पेनको सान्ता क्रुज डे टेनेरिफे क्रमशः शीर्ष आठमा छन्।
सुशासनमा नर्डिक सहर अगाडि
सुशासन सूचकमा डेनमार्कको कोपनहेगन पहिलो र आर्हस दोस्रो स्थानमा छन्। न्युजिल्यान्डको अकल्यान्ड, वेलिङ्टन र क्राइस्टचर्च क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहँदा फिनल्यान्डको हेलसिन्की छैटौँ तथा टाम्पेरे सातौँ स्थानमा छन्। नर्वेको ओस्लो आठौँ स्थानमा परेको छ।
सुशासनको शीर्ष सूचीमा डेनमार्क, न्युजिल्यान्ड, फिनल्यान्ड र नर्वेका सहरको वर्चस्वले पारदर्शी प्रशासन, भरपर्दो सार्वजनिक सेवा र प्रभावकारी स्थानीय संस्थाको महत्त्व देखाएको छ।
काठमाडौंको सूचकगत अवस्था यस्तो छः



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।