काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालको कुल विदेशी विनिमय सञ्चिति थप मजबुत बनेको छ। असार मसान्तको तुलनामा साउन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो। एक महिनामै सञ्चिति करिब ४८ अर्ब ५६ करोड रुपैयाँले बढेको हो।
अमेरिकी डलरमा समेत विदेशी विनिमय सञ्चिति बढेको छ। असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति साउन मसान्तमा २.१ प्रतिशतले बढेर २५ अर्ब ८४ करोड डलर पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति पनि बढेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ बराबरको सञ्चिति रहेकोमा साउन मसान्तसम्म १.३ प्रतिशतले बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि सामान्य वृद्धि भएको छ। असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति साउन मसान्तमा ०.९ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
नयाँ आर्थिक वर्षको सुरुवातमै विदेशी विनिमय सञ्चिति थप बढ्नु बाह्य क्षेत्रका दृष्टिले सकारात्मक संकेतका रूपमा देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।