काठमाण्डौ । गत भदौ १० गते रसुवासहित विभिन्न जिल्लामा महाविनाश निम्त्याएको भोटेकोशी–त्रिशूली बाढी सामान्य वर्षा, हिमताल विस्फोट वा भूकम्पका कारण नभई करिब दुई वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विशाल चट्टान र हिमनदी एकसाथ खस्दा उत्पन्न भएको वैज्ञानिक अध्ययनले देखाएको छ।
नेपाल–चीन सीमाक्षेत्रको हिमाली भूभागमा भएको विशाल ‘रक–आइस एभालेन्च’ अर्थात् चट्टान र हिउँको पहिरो केही मिनेटमै लेदो, ढुंगा र पानी मिसिएको अत्यन्त शक्तिशाली बाढीमा परिणत भएको थियो।
‘वर्ल्ड वेदर एट्रिब्युसन’ले सार्वजनिक गरेको अध्ययनअनुसार पहिरो लाङटाङ लिरुङ हिमालको समुद्री सतहबाट करिब ५ हजार १५० मिटर उचाइमा रहेको चट्टानी पर्खालबाट सुरु भएको थियो। खसेको चट्टान तथा हिमनदी करिब १ हजार ४०० मिटर तल ३ हजार ७५० मिटर उचाइमा रहेको उपत्यकाको सतहमा बज्रिएको थियो।
यस क्रममा उत्पन्न ऊर्जा ५.५ म्याग्निच्युडको भूकम्पबराबर रहेको वैज्ञानिकहरूले बताएका छन्। त्यसैले घटनाको सुरुवातमा रेकर्ड भएको कम्पनलाई भूकम्प ठानिएको थियो। पछिल्लो अध्ययनले उक्त कम्पन भूकम्प नभई विशाल चट्टान र हिमनदी खस्दा उत्पन्न भएको पुष्टि गरेको छ।
सात मिनेटमा रसुवागढी, गति १८८ किलोमिटर
चट्टान, हिमनदी र भग्नावशेष तीव्र गतिमा तल झर्दा उत्पन्न घर्षण तथा यान्त्रिक ऊर्जाले हिमनदीको ठूलो हिस्सा तत्काल पगालेको अनुमान गरिएको छ। पहिरो उपत्यकाको सतहमा ठोक्किँदा जमिनमुनि दबिएको हिउँसमेत पग्लिएर बाढीमा थप पानी मिसिएको थियो।
हिमनदीको हिउँ, पर्माफ्रस्टमा सञ्चित पानी, पहिरोसँगै आएको हिउँ तथा पानी र नदीको बहाव मिसिएपछि ढुंगा, लेदो र पानीको विशाल पर्खाल निर्माण भएको अध्ययनमा उल्लेख छ।
यो बाढी २२ किलोमिटर तल रहेको रसुवागढी सीमा क्षेत्रमा केवल सात मिनेटमै पुगेको थियो। यसको औसत गति प्रतिघण्टा १८८ किलोमिटर रहेको अध्ययनले देखाएको छ।
रसुवागढीका सीमा संरचना ध्वस्त पारेपछि बाढीले अर्को १५ मिनेटभित्र टिमुरे र स्याफ्रुबेँसी बजार क्षेत्रमा विनाश मच्चाएको थियो। ती क्षेत्रमा रहेका तीर्थयात्री, सीमा कर्मचारी, स्थानीय बासिन्दा तथा जलविद्युत् आयोजनाका कामदारले सुरक्षित स्थानमा पुग्ने पर्याप्त समयसमेत पाएनन्।
त्यसको करिब आधा घण्टापछि बाढी बेत्रावतीस्थित त्रिशूली उपत्यकामा प्रवेश गरेको थियो। बाढीले ठूला चट्टान बगाउँदै बेत्रावती र त्रिशूली बजारका बहुमञ्जिला भवनसमेत नदीमा तानेको अध्ययनले देखाएको छ।
सात घण्टाभन्दा कम समयमा देवघाट
उच्च हिमाली क्षेत्रबाट सुरु भएको बाढी सात घण्टाभन्दा कम समयमै करिब २०० किलोमिटर यात्रा गरेर देवघाट पुगेको थियो। देवघाटमा त्रिशूली नदीको बहाव दोब्बरभन्दा बढी भएर प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटर पुगेको थियो।
चार घण्टाभन्दा कम अवधिमा करिब २ करोड घनमिटर अतिरिक्त पानी उक्त क्षेत्रबाट बगेको अनुमान गरिएको छ। त्यसपछि बाढी नेपालको सीमा पार गर्दै भारततर्फ अघि बढेको थियो।
बाढीले नदी करिडोरमा करिब ३ करोड ५ लाख घनमिटर गेग्रान, लेदो र अन्य भग्नावशेष थुपारेको थियो। यसबाट खेतीयोग्य जमिन, बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजना पुरिएका थिए।
पहिरो उत्पत्ति भएको स्थानभन्दा ८८ किलोमिटर तल गल्छीमा त्रिशूली नदीको सतह ८.५ मिटरले बढेको थियो। पानी, हिउँ, ढुंगा र लेदोको मिश्रणले परिवार, घर, बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचना बगाएको अध्ययनमा उल्लेख छ।
मृतक १ हजार ३०० नाघे, अझै ५ हजार बेपत्ता
अध्ययन तयार पार्दासम्म अर्थात् सन् २०२६ सेप्टेम्बर १४ सम्म विपद्मा परी नेपालमा १ हजार ३०० भन्दा बढीको मृत्यु पुष्टि भएको थियो। मृतकमध्ये थोरैको मात्रै पहिचान गरी शव परिवारलाई हस्तान्तरण गर्न सकिएको थियो।
विपद्पछि ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको तथा करिब १३ हजार ७०० जनाको उद्धार गरिएको अध्ययनमा उल्लेख छ। आठ हजार ६०० भन्दा बढी व्यक्तिले उपचार पाएका थिए भने करिब ३ हजार ४०० व्यक्ति अस्थायी आश्रयस्थलमा बसिरहेका थिए।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँका १७ स्थानीय तहका करिब ८४ हजार २७० मानिस प्रत्यक्ष प्रभावित भएका थिए। सरकारले १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
२०७२ को भूकम्पले पहिल्यै कमजोर बनाएको आशंका
सन् २०१५ को ७.८ म्याग्निच्युडको भूकम्पले लाङटाङ लिरुङ क्षेत्रमा विनाशकारी चट्टान तथा हिमपहिरो निम्त्याएको थियो। त्यसयताका अनुगमनले उक्त क्षेत्रमा पहिरो जाने क्रम निरन्तर उच्च रहेको देखाएको छ।
वैज्ञानिकहरूका अनुसार भूकम्पको कम्पनले हिमाली चट्टानको आन्तरिक संरचनालाई दीर्घकालसम्म कमजोर बनाएको हुन सक्छ। यद्यपि सन् २०२६ को पहिरोमा २०७२ को भूकम्पको ठ्याक्कै कति भूमिका थियो भन्ने पुष्टि भइसकेको छैन।
क्षेत्रको भौगर्भिक संरचना, कमजोर बनेको चट्टान, बढ्दो तापक्रम, हिमनदीको क्षयीकरण, हिउँको सट्टा पानी पर्ने प्रवृत्ति र चट्टानका चिरामा पानीको चाप बढ्नुलगायत कारण एकसाथ सक्रिय भएको वैज्ञानिकहरूको विश्लेषण छ।
तीव्र तापक्रम वृद्धिले गलाउँदैछ हिमाली ‘सिमेन्ट’
उच्च हिमाली क्षेत्रमा चट्टानका चिराभित्र जमेको हिउँले प्राकृतिक सिमेन्टको काम गर्छ। तापक्रम बढेर यस्तो हिउँ पग्लिँदा चट्टानलाई बाँधेर राख्ने शक्ति कमजोर हुन्छ।
पग्लिएको पानी चट्टानका चिराभित्र प्रवेश गर्दा पानीको चाप बढ्छ र पहिलेदेखि कमजोर बनेका चट्टान थप अस्थिर हुन्छन्। लाङटाङ क्षेत्रको पर्माफ्रस्ट अर्थात् लामो समयदेखि जमेको जमिन पग्लँदै जानुले पहिरोको आधार तयार गरेको हुन सक्ने अध्ययनको निष्कर्ष छ।
यस क्षेत्रका हिमनदी दशकौँदेखि वार्षिक औसत आधा मिटरभन्दा बढी पातलिँदै गएका छन्। लाङटाङ लिरुङ हिमनदीको क्षेत्रफल घट्ने गति पनि सन् २०१० पछि तीव्र बनेको छ।
अघिल्लो दुई शताब्दीमा वार्षिक करिब ०.५ प्रतिशतका दरले खुम्चिएको हिमनदी पछिल्लो १६ वर्षमा वार्षिक १ देखि २.३ प्रतिशतसम्मको दरले पछि हटिरहेको अध्ययनले देखाएको छ।
हिमनदी पातलिँदा र पछि हट्दा छेउका चट्टानलाई थामेर राख्ने प्राकृतिक दबाब कम हुन्छ। यसले चट्टानका पुराना चिरा फैलाउने र पहाडको भिरालो भागलाई अस्थिर बनाउने जोखिम बढाउँछ।
शून्य डिग्रीको रेखा प्रत्येक दशक १०० मिटर माथि
वैज्ञानिकहरूले हिमाली क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियस हुने उचाइ क्रमशः माथि सर्दै गएको पत्ता लगाएका छन्। मनसुन र मनसुनपछिको अवधिमा यो हिमरेखा पछिल्ला दशकमा प्रत्येक दशक करिब १०० मिटर माथि सरेको छ।
यसको अर्थ पहिले हिउँ पर्ने उचाइमा अहिले वर्षा हुन थालेको छ। हिउँले पानीलाई केही समय सतहमा सञ्चित गरेर राख्छ। तर वर्षाको पानी तुरुन्तै चट्टानका चिरा र जमिनभित्र प्रवेश गर्छ। यसले पानीको चाप बढाएर पहिरोको जोखिम चर्काउन सक्छ।
पहिरो जानुअघिको १२ महिना अर्थात् सन् २०२५ सेप्टेम्बरदेखि सन् २०२६ अगस्टसम्मको अवधि अस्वाभाविक रूपमा तातो थियो। घटनाअघिका जुलाई र अगस्ट दुवै महिनाको तापक्रम दीर्घकालीन औसतभन्दा उल्लेख्य माथि रहेको वैज्ञानिकहरूले बताएका छन्।
मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तनले जुलाई र अगस्टको तापक्रम करिब १.५ डिग्री सेल्सियस बढाएको अध्ययनले देखाएको छ। वार्षिक औसत तापक्रममा यसको योगदान करिब २ डिग्रीसम्म र कुनै जाडो महिनामा ३ डिग्री सेल्सियससम्म पुगेको पाइएको छ।
जलवायु परिवर्तन मुख्य कारण होइन, तर शक्तिशाली ‘अस्थिरकारी तत्व’
वैज्ञानिकहरूले यो विशिष्ट चट्टान–हिमपहिरो मानवीय जलवायु परिवर्तन नभएको अवस्थामा पनि जान्थ्यो वा जाँदैनथ्यो भन्ने प्रत्यक्ष निष्कर्ष निकालेका छैनन्। त्यसका लागि जमिनमुनिको तापक्रम, चट्टानका चिरामा पानीको चाप र भिरालो भागको यान्त्रिक परिवर्तनसम्बन्धी थप प्रमाण आवश्यक पर्ने उनीहरूले बताएका छन्।
तर तीव्र तापक्रम वृद्धि, पर्माफ्रस्टको क्षयीकरण, हिमनदी पातलिने क्रम र हिउँको सट्टा वर्षा हुने प्रवृत्तिले पहिलेदेखि कमजोर हिमाली भूभागलाई थप अस्थिर बनाएको अध्ययनको निष्कर्ष छ।
अर्थात्, जलवायु परिवर्तनलाई घटनाको एकमात्र वा आधारभूत कारणभन्दा पनि पहिलेदेखि रहेको भौगर्भिक जोखिमलाई चर्काउने शक्तिशाली कारकका रूपमा बुझ्नुपर्ने वैज्ञानिकहरूको भनाइ छ।
विपद् अनुकूलन क्षमताभन्दा बाहिर
नेपालले नदीजन्य बाढीका लागि विकास गरेका पूर्वसूचना प्रणाली र अनुकूलनका उपायले विगतमा धेरै मानिसको ज्यान जोगाएका छन्। तर रसुवाको घटना गति, परिमाण र जटिलताका हिसाबले परम्परागत बाढीभन्दा बिल्कुल फरक थियो।
सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्याप्त समय उपलब्ध गराउन सक्ने पूर्वसूचना प्रणाली अहिले संसारमै नरहेको अध्ययनमा उल्लेख छ। सात मिनेटभित्र २२ किलोमिटर यात्रा गरेको बाढीका अगाडि हाल उपलब्ध पूर्वानुमान र विपद् न्यूनीकरण प्रणाली अपर्याप्त देखिएको हो।
हिमाली नदी उपत्यकामा बसोबासयोग्य जमिन सीमित छ। जनसंख्या बढ्दो छ र आर्थिक गतिविधि नदी तथा जलस्रोतमा निर्भर छ। त्यसैले नदी करिडोरबाट बस्ती र पूर्वाधार पूर्ण रूपमा हटाउनु सामाजिक, आर्थिक तथा राजनीतिक हिसाबले अत्यन्त कठिन रहेको अध्ययनको निष्कर्ष छ।
वैज्ञानिकहरूले उच्च हिमाली क्षेत्रमा भू–अवलोकन, हिमनदी तथा चट्टान अनुगमन, जोखिमसम्बन्धी सूचना प्रवाह र सीमापार तथ्यांक आदानप्रदान तत्काल बलियो बनाउन सुझाव दिएका छन्।
तर यति ठूलो परिमाणका जटिल विपद् अनुकूलनका उपायले मात्रै नियन्त्रण गर्न नसकिने उनीहरूको चेतावनी छ। भविष्यको जोखिम घटाउन जीवाश्म इन्धनको प्रयोग तीव्र रूपमा घटाउनुका साथै जोखिममा रहेका हिमाली मुलुकका लागि जलवायु वित्त, पुनर्निर्माण र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।