काठमाण्डौ । रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा अझै ४३९ जना सम्पर्कविहीन रहेको आयोजनाको प्रवर्द्धक कम्पनीले जनाएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका अनुसार हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना पछि सम्पर्कमा आएका छन्। ३९ जना मृत अवस्थामा भेटिएका छन्।
बाढी आएको समयमा आयोजनास्थलमा नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका नागरिक गरी करिब १ हजार ४३३ जना कार्यरत रहेको कम्पनीले जनाएको छ।
उनीहरू प्रवर्द्धक कम्पनीसँगै परामर्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्ट, इन्जिनियरिङ, खरिद तथा निर्माणतर्फ कोरियाली कम्पनी डुसान, सिभिलतर्फको सब–कन्ट्रयाक्टर पावर चाइना तथा इलेक्ट्रोमेकानिकलतर्फ एन्ड्रिज हाइड्रोलगायत कम्पनीमा कार्यरत थिए।
कम्पनीका अनुसार सम्पर्कविहीन स्वदेशी तथा विदेशी नागरिकको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। सरकारी निकाय, सुरक्षा निकाय, प्राविधिक विशेषज्ञ, उद्धार टोली तथा अन्य सरोकारवालासँग समन्वय गरेर आवश्यक स्रोतसाधन परिचालन गरिएको छ।
बाढीले आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङसम्म व्यापक क्षति पुर्याएको छ। मुख्य सुरुङतर्फ बाढीले ट्रकसमेत पल्टाएको अवस्थामा फेला परेको कम्पनीले जनाएको छ।
सेना, प्रहरीदेखि विदेशी विज्ञसम्म परिचालन
बाढी आएको समयदेखि नै आयोजना क्षेत्रका कामदार तथा कर्मचारीको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली संयुक्त रूपमा परिचालित छन्।
भूमिगत संरचनाभित्र फसेका हुनसक्ने व्यक्तिको खोजीसँगै बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा समेत खोजी जारी राखिएको छ।
खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन तालिमप्राप्त खोजी कुकुरसहितको टोली, पर्वतारोही उद्धार टोली तथा अन्य दक्ष जनशक्ति परिचालन गरिएको छ।
आयोजनाका सुरुङ, भूमिगत विद्युतगृह तथा अन्य संरचनामा व्यक्ति फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भग्नावशेष र लेदो हटाउने, सम्भावित खोजी क्षेत्र पहिचान गर्ने र उद्धार कार्य सहज बनाउने काम भइरहेको कम्पनीले जनाएको छ।
विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, आयोजनास्थलसम्म पुग्ने सडकको अभाव, आवास तथा आधारभूत सुविधाको कमी, भूमिगत संरचनाको जोखिम र थप पहिरोको सम्भावनाबीच पनि संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
हेलिकोप्टरबाट एस्काभेटर र उपकरण ढुवानी
आयोजनास्थलसम्म पुग्ने सडक बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खोजी तथा उद्धारका लागि हेलिकोप्टरमार्फत दुईवटा मिनी एस्काभेटर ढुवानी गरिएको छ।
सुरुङभित्र जमेको भग्नावशेष हटाउन तथा फलामका रड काट्न आवश्यक जेनेरेटर र ग्यास कटिङ उपकरणसमेत हेलिकोप्टरमार्फत आयोजनास्थल पुर्याइएको कम्पनीले जनाएको छ।
मुख्य सुरुङ निर्माणका लागि बनाइएको पहुँच सुरुङ ‘अडिट–३’ को माथिल्लो तटीय क्षेत्रमा जमेको लेदो र भग्नावशेष एस्काभेटर प्रयोग गरी हटाउने काम भइरहेको छ।
खोजीमा आवश्यक एस्काभेटर, मिनी एस्काभेटरलगायत उपकरणसमेत हेलिकोप्टरबाट ढुवानी गरी परिचालन गरिएको छ।
तालिमप्राप्त कुकुरसहितको टोलीलाई सम्भावित स्थानमा परिचालन गरिएको र उनीहरूको आवतजावतका लागि हेलिकोप्टर उडान अनुमति लिइएको कम्पनीले जनाएको छ।
मैलुङस्थित आयोजनाको साइट कार्यालय तथा कर्मचारी आवास क्षेत्रमा थुप्रिएको लेदो र भग्नावशेष हटाउने तथा जमेको पानी निकास गर्ने काम पनि भइरहेको छ।
प्राविधिक टोलीले भूमिगत विद्युतगृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थल तथा अन्य संरचनाको अवस्था निरीक्षण र मूल्याङ्कन गरिरहेको छ।
शव सनाखत र परिवारलाई काजक्रिया खर्च
खोजी तथा उद्धारका लागि आवश्यक उपकरण, प्राविधिक सहयोग तथा अन्य स्रोतसाधन कम्पनीले आफ्नै खर्चमा परिचालन गरिरहेको जनाएको छ।
आयोजनास्थलबाट निकालिएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुरस्थित सैनिक क्याम्पमा ल्याइएको छ।
मृतकका परिवार तथा आफन्तलाई शव सनाखतका लागि आवश्यक सम्पर्क, समन्वय र सहजीकरण भइरहेको कम्पनीले जनाएको छ।
मृतकका परिवारलाई आफ्नो संस्कृति र रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न सहयोग पुग्ने गरी प्रारम्भिक राहतस्वरूप काजक्रिया खर्चसमेत उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ।
सम्पर्कविहीनका परिवारसँग नियमित समन्वय
कम्पनीले सम्पर्कविहीन व्यक्तिका परिवारसँग नियमित सम्पर्क कायम राखिएको जनाएको छ।
परिवारबाट प्राप्त सूचना, सकुशल उद्धार गरिएका कर्मचारीबाट प्राप्त विवरण तथा अन्य विश्वसनीय स्रोतबाट संकलित जानकारीका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार टोलीलाई सूचना उपलब्ध गराउने गरिएको छ।
प्रभावित परिवारलाई खोजी तथा उद्धारको प्रगति, प्राप्त सूचना र अवस्थाबारे नियमित जानकारी दिने तथा सम्भव भएसम्म परामर्श र मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
सरकारी निकायसँग निरन्तर समन्वय
खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारले गठन गरेको ‘वार रुम’, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र विद्युत् विकास विभागलगायत निकायसँग कम्पनीले नियमित समन्वय गरिरहेको छ।
कम्पनीका प्रतिनिधिले आयोजनाको अवस्था, खोजी तथा उद्धारको प्रगति, देखिएका चुनौती र आवश्यकताबारे सम्बन्धित निकायलाई नियमित जानकारी गराउँदै आएका छन्।
कम्पनीले सरकारी निकाय, सुरक्षा संगठन, प्राविधिक विशेषज्ञ, उद्धार टोली, स्थानीय समुदाय तथा अन्य सहयोगी पक्षप्रति आभार व्यक्त गर्दै उपलब्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालन गरी सम्पर्कविहीन व्यक्तिको खोजी जारी राख्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।