काठमाण्डौ । लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अब दुबईसँग सिधा हवाई सम्पर्कमा जोडिने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई रुटमा दैनिक नियमित उडान शुरु गर्ने तयारी गरेको छ ।
२०७९ पुस १७ गते सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि विभिन्न चार्टर्ड तथा सीमित नियमित अन्तर्राष्ट्रिय उडान भए पनि दीर्घकालीन रूपमा निरन्तरता पाउन सकेका थिएनन्। अब दुबईसँगको नियमित हवाई सम्पर्कले भने विमानस्थलको उपयोगिता र पोखराको अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई नयाँ चरणमा लैजाने अपेक्षा गरिएको छ।
फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने साँझ ७ः१५ बजे यात्रु लिएर दुबई फर्किनेछ। कम्पनीले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ बाट पोखराका लागि दैनिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
यो उडानको महत्व पोखरा र दुबईबीचको प्रत्यक्ष आवागमनमा मात्र सीमित छैन। फ्लाई दुबईले एमिरेट्ससँगको कोडसेयरअन्तर्गत सेवा सञ्चालन गर्ने भएकाले दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा पुग्ने अवसर पोखराबाट यात्रा गर्ने यात्रुलाई उपलब्ध हुनेछ।
यसले विशेषगरी खाडी मुलुक, युरोप तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने नेपाली यात्रुलाई काठमाण्डौ हुँदै यात्रा गर्नुपर्ने बाध्यता केही हदसम्म घटाउन सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।