काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृति नै नभएका एक यात्रुलाई वैदेशिक रोजगारीका लागि विदेश उड्न अनुमति दिएको घटनामा विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत चेतबहादुर सेजुवाललाई विभागमा तानिएको छ।
असोज ५ गते कुवेत जान लागेका एक यात्रुलाई आवश्यक श्रम स्वीकृतिबिनै प्रस्थान अनुमति दिएको पाइएपछि अध्यागमन विभागले सेजुवाललाई विमानस्थलबाट फिर्ता बोलाएर घटनामाथि अनुसन्धान अघि बढाएको हो।
प्रारम्भिक छानबिनका क्रममा सम्बन्धित यात्रु विदेश उडिसकेपछि मात्रै वैदेशिक रोजगार विभागको प्रणालीबाट श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएको पाइएको छ। अध्यागमन विभागको ‘नेपाली पोर्ट प्रणाली’ तथा विमानस्थलको सीसीटीभी फुटेजको अध्ययनबाट घटनासम्बन्धी विवरण खुलेको विभागले जनाएको छ।
विभागको प्रारम्भिक अनुसन्धानअनुसार ती यात्रु असोज ५ गते बिहान करिब ६ बजेर ३० मिनेटमा अध्यागमन क्षेत्रमा प्रवेश गरेका थिए। श्रम स्वीकृति नभएको अवस्थामा उनी अध्यागमन डेस्क आसपास करिब आधा घण्टासम्म रहेका थिए।
त्यस अवधिमा तेस्रो व्यक्तिसँग समेत सम्पर्क भएको र त्यसपछि बिहान ७ बजेर १० मिनेटमा ती यात्रुलाई प्रस्थान अनुमति दिइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
यस घटनामा एक बिचौलियाको समेत भूमिका देखिएको अध्यागमन विभागले जनाएको छ। अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार जापानमा बस्ने एक व्यक्ति र बिचौलियाबीच २३ हजार रुपैयाँको कारोबार भएको प्रमाणसमेत भेटिएको छ।
प्रारम्भिक छानबिनका क्रममा जापानमा रहेका व्यक्तिले क्यूआरमार्फत बिचौलियालाई रकम पठाएको र रकम आएको यकिन भएपछि अध्यागमन अधिकृत सेजुवालले यात्रुलाई प्रस्थान अनुमति दिएको देखिएको ढकालले बताएका छन्।
घटनामा विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतको प्रत्यक्ष संलग्नता देखिएको प्रारम्भिक निष्कर्ष विभागले निकालेको छ।
विभागले घटनामा संलग्न देखिएका अध्यागमन अधिकृतमाथि विस्तृत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको छ।
श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने यात्रुलाई विमानस्थलबाटै प्रस्थान अनुमति दिइएको यो घटनाले अध्यागमन जाँच प्रणाली, कर्मचारीको जिम्मेवारी तथा बिचौलियाको सम्भावित पहुँचमाथि समेत गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।