काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातवटै प्रदेशको अधिवेशन असोज २१ गते एकैदिन गर्ने भएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि जिल्ला अधिवेशन लगभग सम्पन्न गरेको पार्टी अब प्रदेश अधिवेशनको तयारीमा जुटेको हो। राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ।
भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहे पनि बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङसहित जुम्ला र धनकुटालाई असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने समय दिइएको छ।
प्रदेश अधिवेशनलाई व्यवस्थित बनाउन पार्टीको केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन प्रतिनिधिसमेत खटाएको छ।
कोशी प्रदेशमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा जिल्ला अध्यक्ष तथा जिल्ला कार्यसमितिबाट छनोट भएका प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा प्रतिनिधि, प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिसँगै नगर तथा गाउँपालिका कार्यसमितिका अध्यक्षहरूको सहभागिता रहनेछ।
पार्टीले केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै सक्रिय सदस्यता वितरण तथा विवरण प्रविष्टिको कामलाई पनि तीव्र बनाएको छ। सक्रिय सदस्यताको आवेदन दिने र विवरण प्रविष्ट गर्ने समय असोज १५ गतेसम्म तोकिएको छ।
राप्रपाले सक्रिय सदस्यहरूमध्येबाट समानुपातिक तथा समावेशी आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। मंसिरमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै पार्टीले अहिले संगठनात्मक तयारीलाई तीव्रता दिएको जनाएको छ।
राप्रपाको आधिकारिक वेबसाइटमा मोहनकुमार श्रेष्ठ पार्टीको प्रवक्ताका रूपमा उल्लेख छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।