काठमाण्डौ । दसैँ, तिहार र छठ नजिकिँदै जाँदा बागलुङमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढ्न थालेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बागलुङ बजारको उपल्लाचौरमा सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलमा दैनिक सयौँ उपभोक्ता किनमेलका लागि पुग्ने गरेका छन्।
सोमबारदेखि सञ्चालनमा आएको उक्त पसलमा बागलुङ बजारसँगै आसपासका गाउँबाट समेत उपभोक्ता आउने गरेका छन्। बजार मूल्यभन्दा केही सस्तोमा खाद्यवस्तु पाइने भएकाले पसलमा किनमेल गर्नेको लाइन लाग्ने गरेको हो।
साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका अनुसार उक्त पसलबाट दैनिक करिब ५ सय जनालाई सेवा दिन सकिन्छ।
चाडपर्वका बेला बजारमा अनावश्यक मूल्यवृद्धि हुन सक्ने र त्यसबाट उपभोक्ता मर्कामा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो।
बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालय भवनबाटै उपभोक्ताले नुन, चिनी, तोरीको तेल, आँटा र मैदा सुपथ मूल्यमा खरिद गर्न सक्ने साल्ट ट्रेडिङ कार्यालय बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले बताएका छन्।
पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ, शुद्ध तोरीको तेल प्रतिलिटर ३८० रुपैयाँ तथा दुई किलो आँटा र दुई किलो मैदा समान १५० रुपैयाँमा बिक्री भइरहेको छ।
प्रतिव्यक्ति अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन, पाँच लिटर तोरीको तेल तथा आँटा र मैदा चार–चार किलोसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
चाडपर्व लक्षित सुपथ मूल्य पसल कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। पसल बिहान साढे ९ बजेदेखि बेलुका साढे ४ बजेसम्म खुला रहनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।