काठमाण्डौ । भाइटीकाको दिन बुधबार दिउँसो काठमाण्डौसहित मध्य र पूर्वी नेपालका केही भागमा पानी पर्ने सम्भावना तीनवटा मौसम मोडलले देखाएका छन् । ईसीएमडब्लूएफ, जीएफएस र आइकनका नक्सामा काठमाण्डौ, भरतपुर, सिन्धुलीको कमलामाई र धनकुटामा वर्षाको संकेत देखिन्छ । केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने संकेत पनि छ ।
काठमाण्डौमा संकेत मिल्यो तर वर्षाको मात्रा फरक
काठमाण्डौका लागि जीएफएसले तीन मोडलमध्ये सबैभन्दा बढी वर्षाको संकेत दिएको छ । नक्सामा काठमाण्डौका लागि जीएफएसमा २.५, ईसीएमडब्लूएफमा १.३ र आइकनमा ०.९ अंक देखाइएको छ ।
जीएफएसले पश्चिमका केही पहाडी तथा हिमाली भागदेखि पूर्वसम्म वर्षा वा हिमपातको संकेत देखाएको छ । आइकनमा वर्षाको क्षेत्र मुख्यतः मध्य र पूर्वी नेपालतर्फ केन्द्रित छ । ईसीएमडब्लूएफको नक्सामा भने काठमाण्डौ, भरतपुर र आसपासका क्षेत्रमा चट्याङको संकेत बढी फैलिएको देखिन्छ । तीनै मोडलमा वर्षाको संकेत मिले पनि मेघगर्जन र चट्याङ देखाइएका स्थान उस्तै छैनन् ।
महाशाखाको बुलेटिनमा के छ?
मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनअनुसार पश्चिमी वायुको आंशिक प्रभावले बुधबार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ । यी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बुलेटिनमा काठमाण्डौ सहरलाई छुट्टै तोकिएको छैन । राजधानीमा वर्षाको संकेत भने तीनवटै मोडलका नक्सामा देखिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।