काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मङ्गलबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।
सुदूरपश्चिम यस संस्करणमा ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ। जनकपुरले ५ खेलबाट २ जित र ३ हारसहित ४ अंक जोडेको छ र पाँचौँ स्थानमा छ। अंकतालिकामा पाँचौँ रहेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न यो खेल जित्नुपर्ने दबाब छ भने सुदूरपश्चिमका लागि जितले प्लेअफ यात्रालाई थप सहज बनाउनेछ।
सुदूरपश्चिमले यस संस्करणको सुरुवात लुम्बिनी लायन्ससँगको हारबाट गरेको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको सुदूरपश्चिमले विराटनगर किंग्ससँग हार बेहोरेको थियो। त्यसपछि चितवन राइनोज र कर्णाली याक्सलाई हराउँदै पछिल्ला दुई खेलमा लगातार जित निकालेको छ।
जनकपुरको यात्रा मिश्रित रहँदै आएको छ। कर्णालीसँग हारपछि काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको जनकपुरले पछिल्ला दुई खेलमा विराटनगर र लुम्बिनीसँग झिनो अन्तरले हार बेहोरेको छ। लगातार दुई हारको शृङ्खला तोड्दै पुनः लयमा फर्कने प्रयासमा जनकपुर छ।
सुदूरपश्चिमको ब्याटिङमा इशान पाण्डे, बिनोद भण्डारी, ब्रान्डन म्याकमुलेन र दीपेन्द्रसिंह ऐरी महत्वपूर्ण छन्। यस संस्करणमा इशान पाण्डेले सर्वाधिक ९२ रन बनाएका छन् भने अनिल खरेलले ७ विकेट लिएका छन्। जनकपुरको ब्याटिङमा सैफ हसन मुख्य खेलाडीका रूपमा देखिएका छन्, जसले १४० रन बनाएका छन्। बलिङमा राहुल यादवले ८ विकेट लिइसकेका छन्। हरमित सिंह, जेम्स निशम र अनिल साह पनि जनकपुरका लागि महत्वपूर्ण छन्।
इतिहास कसको पक्षमा?
एनपीएलको इतिहास हेर्दा सुदूरपश्चिम रोयल्स अगाडि देखिन्छ। यी दुई टोलीबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ, जसमा सुदूरपश्चिमले ३ खेल जित्दा जनकपुरले १ मात्र जितेको छ।
पहिलो संस्करण (२०२४) मा तीन पटक भेट भएको थियो। पहिलो भेटमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो। क्वालिफायरमा पनि सुदूरपश्चिमले ८ विकेटले जितेको थियो। तर फाइनलमा जनकपुरले बदला लिँदै उपाधि जितेको थियो। पछिल्लो भेट २०२५ नोभेम्बर २९ मा भएको थियो, जसमा सुदूरपश्चिमले ६ विकेटले जितेको थियो।
यसरी पछिल्ला चार भेटमध्ये तीन खेल जितेको सुदूरपश्चिम आज पनि ऐतिहासिक दबदबा कायम राख्ने लक्ष्यमा हुनेछ। जनकपुर भने पुरानो हारको बदला लिँदै हेड-टु-हेडको अन्तर घटाउने योजनामा हुनेछ।
एनपीएलमा लिग चरणबाट शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। सुदूरपश्चिमले जित निकाले ८ अंक पुग्नेछ भने जनकपुरले जित निकाले ६ अंक पुग्नेछ। इतिहास, पछिल्लो लय र खेलाडीको प्रदर्शनका आधारमा आजको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।