काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।
मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ। विभागले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।
त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
प्रधानमन्त्री शाहले मौसम प्रणालीका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
विशेषगरी गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा सम्भावित विपद्प्रति सतर्क रहन आग्रह गरिएको छ।
सम्भावित भारी वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले प्रधानमन्त्री शाहले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। उनले पानी परिरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्नसमेत अनुरोध गरेका छन्।
त्यसैगरी, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका बस्तीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत नागरिकलाई आग्रह गरिएको छ।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन निर्देशन दिइएको जनाउँदै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।