बुधबार, आश्विन ७,२०८३ 06:59:59
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:59:59
Bizshala
Global IME Bank Limited

३० हजार मेगावाट लक्ष्यसँग जोडिँदै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’, माघ ३ देखि काठमाडौंमा

Bizshala
३० हजार मेगावाट लक्ष्यसँग जोडिँदै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’, माघ ३ देखि काठमाडौंमा
New Office

 

काठमाण्डौ । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३, ४ र ५ गते अर्थात् जनवरी १७, १८ र १९, २०२७ मा काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ (Resilient Energy, Prosperous Nepal) नारासहित आयोजना हुने एक्स्पो सन् २०१७, २०१८, २०२२ र २०२४ मा भएका संस्करणको निरन्तरताका रूपमा पाँचौं संस्करण हुनेछ।

आयोजकका अनुसार नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको छ भने सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यही लक्ष्य हासिल गर्न आवश्यक लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा एक्स्पोलाई अघि बढाउन लागिएको जनाइएको छ।

हाल राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका आयोजनामा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको आयोजकको दाबी छ। करिब ६ हजार ४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन पूरा गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर निर्माण तयारीमा रहेको इप्पानले जनाएको छ।

जलविद्युत्बाट व्यापक हरित ऊर्जातर्फ

एक्स्पोलाई परम्परागत जलविद्युत्मा मात्र सीमित नराखी सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्म विस्तार गरिनेछ।

आयोजकले यसपटक ‘एकीकृत हरित ऊर्जा बजार’ (Integrated Green Energy Market Place) को अवधारणालाई समेत अघि बढाउने जनाएको छ। यसको केन्द्रमा ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तन रहनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जलवायु जोखिम पनि मुख्य एजेन्डा

ऊर्जा उत्पादनसँगै जलवायुजन्य जोखिम बढिरहेको उल्लेख गर्दै आयोजकले सुरक्षित र उत्थानशील ऊर्जा पूर्वाधार निर्माणलाई एक्स्पोको प्रमुख बहसको विषय बनाउने जनाएको छ।

इलाम, संखुवासभा र लमजुङमा भएका बाढी–पहिरोसँगै भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको पछिल्लो विनाशले ऊर्जा पूर्वाधारलाई जलवायु जोखिमअनुकूल बनाउनु पर्ने आवश्यकता देखाएको आयोजकको भनाइ छ।

त्यसैले एक्स्पोमा जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनबारे बहस तथा अनुभव आदानप्रदान गरिनेछ।

बीटुबीदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म

एक्स्पोका प्रमुख आकर्षणमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी र्‍याली तथा गाला नेटवर्किङ डिनर रहनेछन्।

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि प्रदर्शन गरिनेछ।

विद्यार्थी तथा नवप्रवर्तकहरूले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई पनि एक्स्पोमा समावेश गरिने आयोजकले जनाएको छ।

१३ भन्दा बढी मुलुकका कम्पनी ल्याउने तयारी

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत विभिन्न देशका कम्पनी तथा सरोकारवालालाई सहभागी गराउने तयारी गरिएको छ।

त्यस्तै सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञको सहभागिता रहने आयोजकले जनाएको छ।

१०० बढी स्टल, ३० हजार अवलोकनकर्ताको अपेक्षा

एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

इप्पानले एक्स्पोलाई आफ्नो स्थापना दिवससँग जोडेर हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना हुने वार्षिक ऊर्जा कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्यसमेत राखेको छ।

आयोजकले एक्स्पोका लागि स्टल बुकिङ तथा सहभागिता खुला गरिसकेको जनाएको छ।

इप्पानका अनुसार ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ ले नेपालको ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्नुका साथै सुरक्षित, दिगो र जलवायु–उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.