काठमाण्डौ । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले आफ्ना ग्राहकलाई पूँजीगत लाभकर (CGT) को संशोधित दर कार्यान्वयनबारे जानकारी गराएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार नेपाल राजपत्रमा प्रकाशित नयाँ व्यवस्थाबमोजिम प्राकृतिक व्यक्तिले धितोपत्र बिक्रीबाट कमाएको पूँजीगत लाभमा लाग्ने कर दर परिमार्जन गरिएको छ।
नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको धितोपत्र बिक्री गर्दा हुने पूँजीगत लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिसम्म स्वामित्वमा रहेको धितोपत्र बिक्री गर्दा हुने लाभमा ५ प्रतिशत CGT लाग्ने आर्यताराले जनाएको छ।
कम्पनीका अनुसार संशोधित कर दर २०८३ असोज ८ गतेदेखि लागू भएको छ।
आर्यताराले विशेष रूपमा असोज ६ गते सम्पन्न कारोबारको सेटलमेन्टमा समेत नयाँ कर दर लागू हुने जानकारी दिएको छ। सेयर कारोबारको राफसाफ T+2 प्रणालीअनुसार हुने भएकाले असोज ६ गतेको कारोबारको सेटलमेन्ट असोज ८ गते पर्ने हुँदा उक्त कारोबारमा पनि संशोधित CGT दर लागू हुने कम्पनीको सूचनामा उल्लेख छ।
आर्यताराले आफ्ना ग्राहकलाई नयाँ कर दर तथा यसको कार्यान्वयन मितिबारे जानकारी गराउँदै कारोबार गर्दा सोहीअनुसार कर गणना हुने स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।