काठमाडौं। नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेलले शेयर बजारका विषयमा अर्थ मन्त्रालय र सम्बन्धित निकायले सीमित व्यक्ति तथा स्वार्थ समूहसँग मात्रै सहकार्य गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले यही प्रवृत्तिका कारण नेपालको शेयर बजारको वर्तमान अवस्था सिर्जना भएको दाबी गरे। उनले पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन समयअनुकूल बलियो कानुन आवश्यक रहेको बताए।
२०६३ सालको कानुन र पुराना निर्देशिकाका आधारमा पूँजी बजार सञ्चालन भइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ तथा संशोधित कानुन ल्याउनुपर्नेमा जोड दिए। नियामकको अधिकार स्पष्ट गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने गरी धितोपत्र बोर्डसम्बन्धी विशिष्टीकृत ऐन आवश्यक रहेको उनको भनाइ थियो।
कँडेलले आर्थिक अनियमिततामा संलग्नलाई न्यून सजाय तथा जरिवानामै उन्मुक्ति दिने प्रवृत्ति रहेको दाबी गर्दै जिम्मेवार अधिकारीलाई कानुनमार्फत जबाफदेही बनाउनुपर्ने बताए। साथै, धितोपत्र बोर्डका अध्यक्षहरूले राजीनामा दिने प्रवृत्तिमाथि प्रश्न उठाउँदै बोर्डका लागि तत्काल नयाँ तथा संशोधित ऐन आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।