काठमाण्डौ । प्रतिनिधि सभाको अर्थ समितिले सेयर बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन सम्बन्धित निकायलाई आवश्यक सुधार अघि बढाउन निर्देशन दिएको छ।
समितिले कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, नेटवर्क, वास्तविक अवस्था तथा प्रतिफललगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी आईपीओ अनुमति दिनुपर्नेमा जोड दिएको छ। संस्थापकले धारण गर्नुपर्ने सेयर स्वामित्वसम्बन्धी व्यवस्थालाई समेत पुनरावलोकन गर्न निर्देशन दिइएको छ।
दोस्रो बजारमा मिलेमतोमा कारोबार गर्ने, कर्नरिङ गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृत्रिम माग वा मूल्य सिर्जना गरी उच्च मूल्यमा सेयर बिक्री गर्ने प्रवृत्तिमाथि पनि कडाइ गर्न समितिले निर्देशन दिएको छ।
यस्ता गतिविधिसँगै सर्कुलर ट्रेडिङ, पम्प एन्ड डम्पलगायत चलखेल रोक्न प्रभावकारी निगरानी र कारबाही व्यवस्था लागू गर्नुपर्ने समितिको निष्कर्ष छ।
समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को भूमिका स्पष्ट हुने गरी विशेष व्यवस्था गर्नसमेत निर्देशन दिएको छ।
नेप्सेको पुनर्संरचनालाई तीव्रता दिन, नयाँ अनलाइन ट्रेडिङ सिस्टम सञ्चालनमा ल्याउन तथा बजारको सूक्ष्म निगरानीमार्फत संलग्न व्यक्ति वा कम्पनीलाई तत्काल कारबाही गर्नुपर्नेमा पनि समितिले जोड दिएको छ।
त्यस्तै, नेप्से र सीडीएससीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
समितिले पूँजीबजारमा देखिएका संरचनागत तथा प्रविधिगत कमजोरी हटाउँदै लगानीकर्ताको हित, बजार पारदर्शिता र नियामकीय प्रभावकारिता बलियो बनाउने उद्देश्यले यी निर्देशन दिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।