काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। उनी यसअघि बैंकको नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव हासिल गरेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।
लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायत महत्वपूर्ण विभागमा जिम्मेवारी सम्हालिसकेका छन्। एसीईओमा बढुवा हुनुअघि उनी बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत थिए।
अकेलाले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।
उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।
अकेलाको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापनसम्बन्धी दक्षता तथा समग्र बैंकिङ सञ्चालनको अनुभवले आगामी दिनमा बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायत पुरस्कारसमेत प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।