मंगलवार, आश्विन २०,२०८३ 08:28:48
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 08:28:48
Bizshala
Global IME Bank Limited

उत्तरी नाका ठप्प हुँदा दशैं बजार प्रभावित: सामान बाटोमै अड्किए, महङ्गी उत्कर्षमा

Bizshala
उत्तरी नाका ठप्प हुँदा दशैं बजार प्रभावित: सामान बाटोमै अड्किए, महङ्गी उत्कर्षमा
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । दसैंका लागि मगाइएका सामान सीमामै रोकिएका छन् । बजारमा उपलब्ध पुरानो मौज्दातको मूल्य बढेको छ, तर किनमेलले गति लिन सकेको छैन । चीनसँग व्यापार हुने तीन प्रमुख उत्तरी नाका अवरुद्ध भएपछि आयातकर्तादेखि खुद्रा व्यापारीसम्मले वर्षकै महत्वपूर्ण व्यापारिक सिजनमा आपूर्ति र बिक्रीको दोहोरो दबाब खेपिरहेका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार चाडपर्वका लागि ल्याइएका सामान बोकेका ७० देखि ८० कन्टेनर नेपालतर्फ रोकिएका छन् । नेपाल पठाउने तयारीमा रहेका थप ५०० देखि ६०० कन्टेनर चीनतर्फ अड्किएका छन् । दसैंको बिक्रीका लागि बजार पुग्नुपर्ने सामान कहिले आइपुग्छ भन्ने टुंगो नहुँदा व्यवसायीको लगानीसमेत बाटोमै रोकिएको छ ।

संघका अध्यक्ष रामहरि कार्की दसैं, तिहार र छठलाई लक्षित गरेर मगाइएका सामान समयमै ल्याउन नसक्दा व्यापारको अवसर गुम्ने जोखिम बढेको बताउँछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘चाडपर्वका लागि ल्याउन लागेका सामान अड्किएका छन् । अहिले पहिल्यै आएको सामानले बजार चलिरहेको छ,’ उनले भने, ‘दसैंका लागि चाहिने नयाँ सामान ल्याउने समय पनि अब बाँकी छैन । चाडपर्व सकिएपछि ल्याएर बिक्री हुने टुंगो हुँदैन ।’

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी नाकाबाट हुने व्यापार अवरुद्ध भएको व्यवसायी बताउँछन् । त्यसपछि पहिरो र विपद्को जोखिमका कारण तातोपानी नाकाको चीनतर्फबाट मालवाहक सवारी आवागमन रोकिएको उनीहरूको भनाइ छ । विकल्पका रूपमा प्रयोग गरिएको कोरला नाका पनि हिमपहिरोका कारण बन्द भएपछि सामान ल्याउने अर्को बाटोसमेत रोकिएको छ ।

असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षाले सडक यातायात थप प्रभावित बनाउँदा नेपाल भित्रिएका सामानसमेत प्रमुख बजारसम्म पुर्‍याउन कठिन भएको व्यवसायीको गुनासो छ ।

कार्कीका अनुसार दसैंका लागि मगाइएका सामान भदौ १५ देखि २० गतेभित्र बजार आइपुग्नुपर्ने थियो । तर, बिक्रीका लागि पसलमा पुग्नुपर्ने समयमा ती सामान बाटोमै रोकिँदा आयातकर्ताको नगद प्रवाहमा दबाब परेको छ ।

‘व्यवसायीले बैंकबाट ऋण लिएर सामान मगाएका थिए । बाढीमा बगेका सामान पनि ऋण लिएरै ल्याइएका हुन्,’ उनले भने, ‘एकातिर सामानको क्षति भयो, अर्कोतिर नयाँ सामान ल्याएर व्यापार गर्न पनि पाइएको छैन ।’

रसुवाको बाढीमा व्यवसायीको दुईदेखि तीन अर्ब रुपैयाँ बराबरको सामान बगेको संघको अनुमान छ । यस्तो क्षतिपछि चाडपर्वको कारोबारबाट केही राहत खोजिरहेका व्यवसायीलाई नाका अवरोधले थप संकटमा पारेको कार्की बताउँछन् ।

आपूर्ति अवरोधको असर बजार मूल्यमा समेत देखिएको छ । कार्कीका अनुसार ढुवानी खर्च र लागत बढ्दा सामानको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको छ । बजारमा नयाँ सामानको अभाव भइरहँदा उपभोक्ताले उपलब्ध मौज्दातबाटै रोज्नुपर्ने अवस्था बनेको छ ।

काठमाण्डौको चाइना टाउनका व्यवसायी हरि श्रेष्ठ आफ्नो कारोबारमा रहेका सामानको खुद्रा मूल्य करिब २५ प्रतिशतसम्म बढेको बताउँछन् । उनका अनुसार मूल्यवृद्धिसँगै ग्राहकले आवश्यकताभन्दा बढी सामान किन्न छाडेका छन् ।

‘अहिले बजारको माग पुरानै लत्ताकपडाले धानिरहेको छ । नयाँ सामान खरिद गर्न चाहनेलाई रोजाइ छैन,’ श्रेष्ठले भने, ‘मूल्य बढेको छ, तर व्यापार बढ्न सकेको छैन ।’

श्रेष्ठका अनुसार यस वर्ष दसैंका लागि अपेक्षा गरिएको सामानको आधा पनि आइपुगेको छैन । रसुवागढी अवरुद्ध भएपछि केही सामान कोरला हुँदै ल्याइएको थियो । तर, लामो मार्गबाट ढुवानी गर्दा भाडा दोब्बरसम्म परेको र पछि उक्त नाकासमेत बन्द हुँदा विकल्प रोकिएको उनले बताए ।

सडक अवरोधले मानिसको आवतजावत र बजार आउने ग्राहकको संख्यामा समेत असर परेको व्यापारीको अनुभव छ । श्रेष्ठ भारतीय पर्यटकको आगमन घट्दा पनि आफ्नो कारोबार प्रभावित भएको बताउँछन् ।

मूल्यवृद्धि सबै सामानमा समान भने छैन । चाइना टाउनका व्यवसायी भुवनप्रसाद निरौलाका अनुसार पहिले एक हजार रुपैयाँ पर्ने कलेज ब्यागको मूल्य अहिले एक हजार ५० रुपैयाँ पुगेको छ ।

‘बाढी र लगातारको वर्षाले बाटो अवरुद्ध हुँदा दसैंको व्यापारमा कमी आएको छ,’ उनले भने ।

सोही बजारकी व्यवसायी मधु अग्रवाल भने केही घरायसी कपडाको मूल्य छोटो अवधिमै उल्लेख्य बढेको बताउँछिन् । उनका अनुसार एक महिनाअघि एक हजार २०० देखि एक हजार ३०० रुपैयाँ पर्ने सिरकको तन्ना अहिले एक हजार ६०० रुपैयाँ पुगेको छ ।

‘एउटै सामानमा एक महिनाभित्रै ३०० देखि ४०० रुपैयाँसम्म मूल्य बढेको छ,’ उनले भनिन्, ‘मूल्यवृद्धिले दसैंको कारोबारमा धेरै कमी आएको छ ।’

चिनियाँ सामान समुद्री मार्गबाट भारतको कोलकाता हुँदै नेपाल ल्याउन सकिने भए पनि तत्कालको अभाव टार्न यो विकल्प उपयोगी नहुने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार उक्त मार्गबाट सामान आइपुग्न करिब ९० दिन लाग्छ, जबकि उत्तरी नाकाबाट सामान्य अवस्थामा २८ देखि ३० दिनमा ल्याउन सकिन्छ । साना आयातकर्ताका लागि समुद्री मार्गको प्रक्रिया र पहुँचसमेत सहज नभएको उनीहरूको भनाइ छ ।

व्यवसायीले तत्काल तातोपानी नाकाबाट सामान आवागमन खुलाउन सरकारी पहल माग गरेका छन् । कार्कीका अनुसार चीनतर्फ रोकिएका सामान छोड्ने व्यवस्था भए तातोपानीबाट तुलनात्मक रूपमा छिटो र कम ढुवानी खर्चमा काठमाण्डौ ल्याउन सकिन्छ ।

‘तातोपानीबाट सामान ल्याउन सके ढुवानी खर्च कम पर्छ र बजारमा छिटो पुग्छ,’ उनले भने, ‘नाकाबाट सामान छोड्ने व्यवस्था मिलाउन परराष्ट्र र अर्थ मन्त्रालयले पहल गर्नुपर्छ ।’

चाडपर्वको बजारमा नयाँ सामान पुर्‍याउने समय घर्किँदै जाँदा व्यवसायीको चिन्ता नाका खुल्ने मितिमा मात्र सीमित छैन । सामान आइपुग्दासम्म बिक्रीको मुख्य सिजन बाँकी रहन्छ कि रहँदैन भन्ने प्रश्नले उनीहरूलाई बढी पिरोलेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.