काठमाण्डौ । रुसबाट ठूलो परिमाणमा डिजेल खरिद गर्ने सम्झौता घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वमाथि नै प्रश्न उठाएका छन्। रुससँगको युद्ध अन्त्य गर्न जेलेन्स्की असफल भएको आरोप लगाउँदै उनले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका हुन्।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले युद्ध रोक्ने थुप्रै अवसर गुमाएको टिप्पणी गरे। ‘युक्रेनले सम्झौता गर्न सक्ने नयाँ नेता पाउनुपर्छ। जेलेन्स्कीसँग धेरैपटक अवसर थियो, तर उनले सम्झौता गरेनन्,’ ट्रम्पले भने।
अमेरिकामा इन्धनको मूल्य बढिरहेका बेला ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल खरिदसम्बन्धी सम्झौता भएको घोषणा गरेका थिए। मध्यावधि निर्वाचन नजिकिँदै गर्दा इन्धनको मूल्य नियन्त्रण गर्ने दबाबमा रहेका ट्रम्पको यो कदमले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ विवाद निम्त्याएको छ।
ट्रम्पले युक्रेनबाट रुसी ऊर्जा पूर्वाधारमा भइरहेका आक्रमणका कारण विश्व बजारमा डिजेल आपूर्ति प्रभावित भएको दाबी गरेका छन्। त्यसको प्रत्यक्ष मार अमेरिकी किसान तथा पशुपालकलाई परेको उनको भनाइ छ।
सम्झौताअनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल अमेरिकालाई उपलब्ध गराउने ट्रम्पको घोषणा छ। नोभेम्बरमा थप पाँच लाख टन, त्यसपछि १० लाख टन र अर्को चरणमा ३० लाख टन डिजेल आपूर्ति गर्ने योजना रहेको उनले बताएका छन्।
तर, रुससँगको ऊर्जा कारोबार बढाउने अमेरिकी निर्णयप्रति युक्रेनसहित युरोपेली मुलुकहरूले असन्तुष्टि जनाएका छन्। रुसबाट इन्धन खरिद गर्दा मस्कोको आम्दानी बढ्ने र त्यसले युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग पुग्ने उनीहरूको चिन्ता छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ऊर्जा निर्यातबाट प्राप्त अतिरिक्त आम्दानी रुसले ड्रोन, क्षेप्यास्त्र तथा अन्य सैन्य सामग्री उत्पादन र सैनिक भर्तीमा खर्च गर्न सक्ने बताएका छन्। रुसको युद्ध सञ्चालन गर्ने आर्थिक क्षमता कमजोर बनाउन युक्रेनले ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै आएको उनको भनाइ छ।
यसैबीच, जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग हवाई सुरक्षा प्रणाली सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। रुसबाट थप आक्रमण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उनले अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरेका छन्।
स्विडेन, जर्मनी र पोल्यान्डले समेत ट्रम्पको पछिल्लो कदमप्रति प्रश्न उठाएका छन्। स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले रुसको ऊर्जा आम्दानी युद्ध सञ्चालनको महत्वपूर्ण आर्थिक स्रोत भएको बताएका छन्। जर्मनीले रुसमाथिका प्रतिबन्ध कायम राख्ने प्रतिबद्धता दोहोर्याएको छ।
पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले भने रुसभित्रै इन्धन आपूर्तिमा समस्या देखिएका बेला अमेरिकालाई ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने क्षमतामाथि प्रश्न उठाएका छन्।
यता, ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरले शुक्रबार फ्लोरिडामा युक्रेनी अधिकारीहरूसँग युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गरेका थिए। तर, अमेरिकी पक्षले रुससँग डिजेल सम्झौता गर्न लागेको विषयमा युक्रेनी प्रतिनिधिमण्डललाई पूर्वजानकारी नगराएको बताइएको छ।
रुसमाथि आर्थिक प्रतिबन्ध लगाएर युद्ध रोक्ने अमेरिकी नीतिकै बीचमा ट्रम्पले मस्कोसँग ऊर्जा कारोबार बढाउने घोषणा गरेपछि वासिङ्टनको रणनीतिमाथि प्रश्न उठेको छ। एकातिर रुससँग व्यापारिक सम्झौता र अर्कोतिर युक्रेनको नेतृत्व परिवर्तनको सार्वजनिक मागले अमेरिका–युक्रेन सम्बन्धमा थप तनाव निम्त्याउन सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।