काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। आयोगले असोज २३ गते कम्पनीलाई ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।
कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ छ। कम्पनीले सुरुमा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न माग गरे पनि आयोगले नबिल बैंकको कर्जा भुक्तानीका लागि आवश्यक रकम जुटाउन मात्रै स्वीकृति दिएको छ। हकप्रदबाट प्राप्त रकममध्ये ५१ करोड ४० लाख रुपैयाँ बैंकको ऋण तिर्न र बाँकी ४ करोड ८० लाख रुपैयाँ उपकरण मर्मतमा खर्च गर्ने कम्पनीको प्रस्ताव थियो।
आयोगले सेयरबाट प्राप्त रकम कर्जा भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र प्रमाणसहित जानकारी गराउन निर्देशन दिएको छ। कम्पनीले अब संस्थापक सेयरधनीलाई पहिलो चरणमा हकप्रद सेयर जारी गरी त्यसको विवरण सार्वजनिक गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्नुपर्नेछ। इलाममा ७.८ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डलगायत निकायको प्रक्रिया पूरा गर्न बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।