काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कास्कीको पोखरास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। नगद लाभांशमा प्रस्तावित बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणसमेत पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको बैंकले जनाएको छ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।
गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ एटीएम मार्फत सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङमार्फत समेत सेवा प्रवाह गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।