काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
पोखरामा सोमबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त रकममा प्रस्तावित बोनस सेयर तथा नगद लाभांशको करसमेत समावेश रहेको बैंकले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी वित्तीय विवरणसमेत पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ।
सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ कायम गर्ने विशेष प्रस्तावसमेत अनुमोदन गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।