काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको जियो प्लेटफर्म्सले भारतीय सेयर बजारमा धमाकेदार प्रवेश गरेसँगै भारतको कर्पोरेट जगतको शक्ति समीकरण नै बदलिएको छ। जियोको सूचीकरणपछि मुकेश अम्बानी नेतृत्वको रिलायन्स समूह टाटा समूहलाई पछि पार्दै भारतकै सबैभन्दा मूल्यवान औद्योगिक घराना बनेको छ।
पछिल्ला धेरै दशकदेखि भारतको सर्वाधिक मूल्यवान व्यावसायिक समूहको स्थान टाटा समूहले ओगट्दै आएको थियो। तर जियो प्लेटफर्म्स सेयर बजारमा सूचीकृत भएसँगै रिलायन्स समूहअन्तर्गतका सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण २८.९ लाख करोड भारतीय रुपैयाँ पुगेको छ।
यससँगै २५.६ लाख करोड भारुको बजार पूँजीकरणसहित टाटा समूह दोस्रो स्थानमा झरेको छ। गौतम अडानी नेतृत्वको अडानी समूह १६.६ लाख करोड भारुसहित तेस्रो स्थानमा छ।
एचडीएफसी समूहको बजार पूँजीकरण १३.९१ लाख करोड भारु रहेको छ भने बजाज समूह १३.८८ लाख करोड भारुसहित त्यसपछिको स्थानमा छ।
जियोको प्रवेशमै ठूलो छलाङ
जियो प्लेटफर्म्सको सेयर प्रतिकित्ता १ हजार ३५८ भारुमा सूचीकरण भएको छ। यसको आईपीओ निष्कासन मूल्य प्रतिकित्ता १ हजार ११९ भारु थियो। अर्थात् जियोको सेयरले सूचीकरणमै निष्कासन मूल्यभन्दा उल्लेख्य प्रिमियम पाएको हो।
सूचीकरण मूल्यका आधारमा जियो प्लेटफर्म्सको बजार मूल्य करिब १२.५ लाख करोड भारु पुगेको छ। यससँगै जियो भारतको दोस्रो सर्वाधिक मूल्यवान सूचीकृत कम्पनी बनेको छ। जियोभन्दा अगाडि अब रिलायन्स इन्डस्ट्रिज मात्रै रहेको छ।
रिलायन्स इन्डस्ट्रिज र जियो प्लेटफर्म्सको संयुक्त बजार मूल्य करिब २८.७ लाख करोड भारु पुगेको छ।
‘यो गन्तव्य होइन नयाँ सुरुवात हो’
जियो प्लेटफर्म्सको सूचीकरणका अवसरमा नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा परम्परागत बेल रिङिङ समारोह आयोजना गरिएको थियो। कार्यक्रममा रिलायन्स समूहका अध्यक्ष मुकेश अम्बानी, नीता अम्बानी, आकाश अम्बानी, ईशा अम्बानी र अनन्त अम्बानी सहभागी थिए।
सूचीकरणअघि आकाश, ईशा र अनन्त अम्बानीले सम्बोधन गरेका थिए।
जियो प्लेटफर्म्सका प्रबन्ध निर्देशक आकाश अम्बानीले सूचीकरणलाई कम्पनीको यात्राको अन्तिम गन्तव्य नभई नयाँ सुरुवातका रूपमा व्याख्या गरे।
उनले लगानीकर्तासँग खुला संवाद गर्ने, गरिएका प्रतिबद्धता पूरा गर्ने र काममार्फत विश्वास जित्ने बताएका छन्।
रिलायन्सको सेयर घट्दा जियोमा थप बढोत्तरी
समग्र भारतीय सेयर बजारमा दबाब देखिएका बेला रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा भने गिरावट आएको छ। बीएसईमा कम्पनीको सेयर २.३४ प्रतिशत घटेर प्रतिकित्ता १ हजार १७१.९५ भारु आसपास कारोबार भएको छ। उक्त मूल्यका आधारमा रिलायन्स इन्डस्ट्रिजको बजार पूँजीकरण करिब १५.८८ लाख करोड भारु रहेको छ।
अर्कोतर्फ जियो प्लेटफर्म्सको सेयर सूचीकरण मूल्यभन्दा पनि माथि पुगेको छ। जियोको सेयर ०.३५ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ३६२.७५ भारु आसपास कारोबार हुँदा कम्पनीको बजार पूँजीकरण करिब १२.५४ लाख करोड भारु पुगेको छ।
जियोको सूचीकरणले रिलायन्स समूहको कुल बजार मूल्यमा ठूलो छलाङ मात्र ल्याएको छैन, भारतको कर्पोरेट जगतमा लामो समयदेखि कायम टाटा समूहको वर्चस्वसमेत तोडेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।