काठमाडौं । मध्यपूर्वमा जारी युद्ध, ऊर्जा मूल्यमा भएको वृद्धि तथा विभिन्न आपूर्ति अवरोधका कारण विश्व बजारमा वस्तुहरूको मूल्य २३ प्रतिशतले बढ्ने विश्व बैंकले प्रक्षेपण गरेको छ।
बुधबार सार्वजनिक गरिएको ‘कमोडिटी मार्केट्स आउटलुक’ प्रतिवेदनमा विश्व बैंकले मध्यपूर्वको युद्धका कारण मालवाहक जहाजको आवागमनमा परेको असर, कालो सागर क्षेत्रमा अन्न ढुवानीमा देखिएका समस्या तथा सुनजस्ता सुरक्षित लगानीका साधनप्रति बढ्दो मागले वस्तुको मूल्यमा चाप परेको जनाएको छ।
विश्वव्यापी रूपमा विभिन्न संकट बढ्दै जाँदा यस वर्ष तेल, प्राकृतिक ग्यास, खाद्यान्न तथा धातुको मूल्यमा उल्लेख्य वृद्धि भएको बैंकले जनाएको छ। मध्यपूर्वको द्वन्द्व थप चर्किएमा र रुसी तेल पूर्वाधारमा क्षति पुग्ने क्रम जारी रहेमा अवस्था अझ बिग्रन सक्ने प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकका अनुसार सन् २०२७ मा वस्तुको मूल्य सात प्रतिशतले घट्ने अपेक्षा गरिएको छ। तर, सन् १९५० यताकै सबैभन्दा प्रतिकूल एल निनो मौसमी प्रभाव देखिने अनुमानसहित विभिन्न आपूर्ति अवरोध जारी रहेमा खाद्यवस्तुको मूल्य उच्च रहन सक्छ। यसले मुद्रास्फीति थप बढ्ने र केन्द्रीय बैंकहरूले मौद्रिक नीति कसिलो बनाउनुपर्ने जोखिम बढाउनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।