काठमाण्डौ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा चौथो दिनसम्म ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कात्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनीमा चौथो दिनसम्म ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् भने ९९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ।
प्रदर्शनीको सुरुवाती दिनमा अपेक्षाभन्दा राम्रो कारोबार भए पनि शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मेला प्रभावित भएको थियो। लगातारको वर्षाले मेला स्थलसमेत बन्द गर्नुपर्ने अवस्था आएपछि अवलोकनकर्ता र व्यवसायी दुवै प्रभावित भएका थिए।
प्रतिकूल मौसमका कारण अपेक्षित रूपमा कारोबार हुन नसकेपछि अवलोकनकर्ता तथा व्यवसायीको अनुरोधमा प्रदर्शनी अवधि दुई दिन थप गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। अब मेला कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार मेलाको पाँचौँ दिन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि प्रदर्शनी अवलोकन गर्दै विभिन्न प्रजातिका फूल तथा बिरुवा खरिद गरेकी छन्।
प्रदर्शनी अवधि थप भएसँगै इच्छुक सर्वसाधारणले कात्तिक १८ गतेसम्म जावलाखेलस्थित मेला स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्री अवलोकन तथा खरिद गर्न सक्नेछन्।
फ्लोरिकल्चर एसोसिएसन नेपालले पुष्पप्रेमी तथा सर्वसाधारणलाई प्रदर्शनी अवलोकनका लागि आग्रहसमेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।