शुक्रबार, कार्तिक २०,२०८३ 03:18:31
  • शुक्रबार, कार्तिक २०,२०८३ 03:18:31
Global IME Bank Limited

भाइमसलामा ३ अर्ब विदेशियो, रु.१.३८ अर्ब कर उठ्यो तर उपभोक्तालाई महँगीको मार !

Bizshala
भाइमसलामा ३ अर्ब विदेशियो, रु.१.३८ अर्ब कर उठ्यो तर उपभोक्तालाई महँगीको मार !
New Office

–सुजता थापा

 

काठमाण्डौ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीकासँगै दिने भाइमसला पछिल्ला वर्षमा नेपाली उपभोक्ताका लागि महँगो बन्दै गएको छ। अर्कोतर्फ भाइमसलामा प्रयोग हुने अधिकांश सामग्री विदेशबाट आयात हुने अवस्थाले चाडपर्वको खर्चसँगै मुलुकको आयात निर्भरता र व्यापार घाटामाथि समेत दबाब बढाइरहेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म नेपालमा करिब ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँ बराबरका विभिन्न ड्राइफ्रुट्स आयात भएका छन्। ती वस्तुको आयातबाट सरकारले भने १ अर्ब ३८ करोड ८९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

तीन महिनामै अर्बौं रुपैयाँ बराबरका काजु, बदाम, ओखर, नरिवल, सुपारीलगायत वस्तु आयात हुनुले नेपालको चाडपर्वसम्बन्धी उपभोगमा विदेशी वस्तुको हिस्सा कति ठूलो छ भन्ने देखाउँछ।

एकातिर सरकारले भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्य करमार्फत अर्बौं रुपैयाँ राजस्व उठाइरहेको छ। अर्कोतर्फ ती वस्तु किन्न त्यही अनुपातमा ठूलो रकम विदेशी मुद्रा विदेशिइरहेको छ। अर्थात्, भाइमसलाको व्यापार सरकारका लागि तत्कालीन राजस्वको स्रोत बने पनि अर्थतन्त्रका लागि भने आयात निर्भरताको अर्को तस्वीर बनेको छ।

भन्सार मूल्य नबढे बजारमा किन महँगियो ?

तिहार नजिकिएसँगै बजारमा काजु, बदाम, पेस्ता, किसमिस र ओखरलगायत भाइमसलाका सामग्रीको मूल्य बढेको उपभोक्ताको गुनासो छ। गत वर्षभन्दा यस वर्ष एउटै परिमाणको भाइमसला खरिद गर्न बढी रकम तिर्नुपरेको उनीहरू बताउँछन्।

तर बजार मूल्य बढ्नुको कारण आयात लागत नै हो कि चाडपर्वको मौका छोपेर व्यापारीले मूल्य बढाएका हुन् भन्ने प्रश्नसमेत उठेको छ।

भन्सार विभागका सूचना अधिकारी गोपालप्रसाद भट्टराईका अनुसार भन्सारमै वस्तुको आयात मूल्य बढेर आएको हो भने त्यसको असर बजार मूल्यमा पर्नु स्वाभाविक हुन्छ। 

'तर भन्सार मूल्यमा उल्लेख्य वृद्धि नभएको अवस्थामा समेत खुद्रा बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको छ भने त्यसलाई सामान्य महँगीका रूपमा मात्रै हेर्न मिल्दैन’ उनले भने, 'यस्तो अवस्थामा कालोबजारी वा अस्वाभाविक नाफाखोरी भएको हुन सक्ने भएकाले सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्छ।'

यसले भाइमसलाको आयात मूल्य, ढुवानी खर्च, कर तथा खुद्रा बिक्री मूल्यबीचको अन्तर कति छ भन्ने विषयमा प्रभावकारी सरकारी अनुगमन आवश्यक देखाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चाडपर्वको माग व्यापारीको कमाउने अवसर ?

तिहारमा भाइमसला खरिद परम्परासँग जोडिएकाले उपभोक्ताले मूल्य बढे पनि किनमेल गर्नुपर्ने बाध्यता हुन्छ। यही बाध्यात्मक मागको फाइदा उठाएर केही व्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने वा लागतभन्दा अस्वाभाविक बढी नाफा राख्ने जोखिमसमेत रहन्छ।

बजारमा भाइमसलाका एउटै सामग्री पसलपिच्छे फरक मूल्यमा बिक्री भइरहेको अवस्थामा सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको माग छ।

'आयातकर्ताले भन्सारमा घोषणा गरेको मूल्य कति हो र त्यही सामान उपभोक्तासम्म पुग्दा मूल्य कति पुगेको छ भन्ने तुलना गर्न सकिनुपर्छ’ एक उपभोक्ताले भने, ‘बजारमा भइरहेको वास्तविक मूल्यवृद्धिको कारणसमेत खुल्नेगरी विभागले अनुसन्धान गर्नुपर्छ, तबमात्रै चाडपर्वमा हुने अचाक्लि मूल्यवृद्धिको समस्या समाधान हुन सक्छ ।'

नेपालमै सम्भावना तर बजार विदेशी उत्पादनको कब्जामा

अर्कोतर्फ भाइमसलाको ठूलो आयातले नेपालको कृषि प्रणालीमाथि पनि प्रश्न उठाएको छ। नेपालका विभिन्न क्षेत्रमा ओखर, बदामलगायत सुक्खा फलफूलको व्यावसायिक खेती विस्तार गर्न सकिने सम्भावना भए पनि पर्याप्त उत्पादन, प्रशोधन, भण्डारण र बजार व्यवस्थापनको अभाव कायमै छ।

स्थानीय किसानलाई व्यावसायिक उत्पादनमा आकर्षित गर्ने, सहुलियतपूर्ण कर्जा तथा प्रविधि उपलब्ध गराउने र उत्पादनलाई बजारसँग जोड्ने नीति प्रभावकारी हुन सके भाइमसलामा हुने आयातको केही हिस्सा स्वदेशी उत्पादनले प्रतिस्थापन गर्न सक्छ।

यसबाट किसानको आम्दानी र रोजगारी बढ्नुका साथै विदेशी मुद्रा बाहिरिने क्रमसमेत घटाउन सकिन्छ।

Garima Development Bank
Bizshala
IME remit

राजस्वको लोभ कि आत्मनिर्भर अर्थतन्त्र ?

भाइमसलाको कारोबारले एउटा विरोधाभास स्पष्ट देखाएको छ। सरकारले आयातबाट अर्बौं रुपैयाँ राजस्व उठाइरहेको छ, तर सोही आयातले मुलुकको विदेशी मुद्रा बाहिर पठाइरहेको छ र व्यापार घाटा बढाइरहेको छ।

त्यसमाथि बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको अवस्थामा उपभोक्ता दोहोरो मारमा पर्छन्—एकातिर आयातित अर्थतन्त्रको लागत, अर्कोतर्फ सम्भावित नाफाखोरी।

त्यसैले भाइमसलाको व्यापारलाई केवल राजस्व उठाउने माध्यमका रूपमा मात्रै हेर्नुभन्दा स्वदेशी उत्पादन विस्तार, आयात प्रतिस्थापन, बजार मूल्य पारदर्शिता र कालोबजारी नियन्त्रणसँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिएको छ।

तिहारको सांस्कृतिक परम्परा जोगाउँदै उपभोक्तालाई राहत दिने हो भने सरकारले अब ‘भन्सारमा कति आयो र बजारमा कति बेचियो ?’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.